
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले निर्वाचित संस्थामाथि दलिय संयन्त्रको नियन्त्रण हुनु अप्रजातान्त्रिक र अलोकतान्त्रिक भएको टिप्पणी गरेका छन् ।आजपाको काठमाडौं उपत्यका विशेष कमिटीको आज काठमाडौं पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकलाई सम्बोधन गर्दै उनले निर्वाचित संस्थामाथि दलिय संयन्त्र बनाएर लोकतन्त्रलाई सिध्याउन खोजेको गम्भिर आरोप लगाए ।‘अहिले दलिय संयन्त्र निर्वाचित संस्थामाथि हावी छ । अप्रजातान्त्रिक र अलोकतान्त्रिक काम दलिय संयन्त्रले गरिरहेको छ । लोकतान्त्रिक शासन भएको मुलुकमा दलिय संयन्त्र बनाएर निर्वाचित संस्थालाई पंगु बनाउँने काम हुनु लोकतन्त्र विरोधी काम हो,’ आजपा अध्यक्ष साहले भने, ‘हामीले दलहरु निरंकुश हुदै गईरहेको देखिरहेका छौं । यो लुटकारी दलाल दलतन्त्रको अन्त्य हुन आवश्यक छ ।’सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले बिभिन्न संयन्त्र गठन गरेका छन् । ति संयन्त्रहरु जनताबाट निर्वाचित संस्थामाथि नै धावा बोलिरहेको साहले जनाएका छन् । उनले भने, ‘निर्वाचित संस्थालाई नियन्त्रण गर्न खोजिदै छ । बिभिन्न संयन्त्र बनाएर निर्वाचित संस्थाको अस्तित्व नै धरापमा पार्न खोजिदैछ ।’कांग्रेस र एमालेको बहुमतको सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली पूर्णरुपमा असफल र असक्षम प्रमाणित हुन थालेपछि बिभिन्न संयन्त्र गठन गर्ने र निर्वाचित संस्थालाई नै असफल बनाउँने काम भईरहेको साहले बताए । आफ्नो प्रतिबद्धता आफै कार्यान्वयन गर्न नसक्ने ओली नेतृत्वको सरकार बिघटन गर्नुपर्ने सुझाव उनले दिए ।आजपा काठमाडौं उपत्यका विशेष कमिटीका इन्चार्ज एवं महासचिव त्रिभुवन साह अमरको अध्यक्षतामा बसेको बैठकले सरकारको मनोमानी कर आतंक बिरुद्ध सर्वपक्षीय बृहत अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ । आउँदो २६ माघमा आजपाले काठमाडौंमा सरकारको मनपरी कर आतंक बिरुद्ध अन्तरक्रिया कार्यक्रम गर्दैछ ।




























