
काठमाडौं । आम जनता पार्टी (आजपा) ले सिंहदरबार घेराउ गर्ने निर्णय गरेको छ । नक्कली गणतन्त्रवादीलाई सिंहदरबारबाट निकाल्ने निष्कर्ष सहित सिंहदरबार घेराउ गर्ने निर्णय आजपाले गरेको छ ।आजपा केन्द्रीय कार्यालय काठमाडौं, कोटेश्वरमा आज बसेको स्थायी कमिटी बैठकले दोस्रो चरणको आन्दोलनको घोषणा गर्दै आउँदो जेठ १५ गते सिंहदरबार घेराउ गर्ने निर्णय गरेको छ ।बैठकलाई सम्बोधन गर्दै आजपा अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नक्कली गणतन्त्रवादीलाई तह लगाउन सिंहदरबार घेराउ गर्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र अहिलेको व्यवस्था पूर्णरुपमा असफल भएको बताउदै उनले नक्कली गणतन्त्रवादीलाई सिंहदरबारबाट निकाल्नुपर्ने बताए ।यस्तै ओली नेतृत्वको सरकार र दलाल दलतन्त्रको देशव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ । दोस्रो चरणको आन्दोलन अन्तरगत जिल्ला–जिल्लामा सर्वपक्षिय भेलाद्धारा जनआन्दोलन परिचालन समिति गठन गर्दै सरकार र दलाल एवं लुटकारी दलतन्त्र बिरुद्ध भण्डाफोर अभियान सञ्चालन गरिने आजपा महासचिव त्रिभुवन साहले जनाएका छन् ।गणतन्त्र दिवसकै अवसरमा आगामी जेठ १५ गते नक्कली गणतन्त्रवादी अर्थात दलतन्त्रवादीलाई सिंहदरबारबाट निकाल्ने उनले बताए ।यस्तै बैठकले पार्टीद्धारा घोषित तेस्रो जनआन्दोलन अन्तरगतको चैत २४ गतेको काठमाडौंमा भएको प्रदर्शन र सभा उत्साहजनक सहभागितामा सफल भएको निष्कर्ष निकालेको छ । चैत २४ गतेको सभा र विरोध प्रदर्शन व्यापक समर्थन र सहभागितामा सम्पन्न भएको र कार्यक्रमलाई सफल बनाउन भौतिक, आर्थिक, नैतिक सहित सहयोग गर्ने सबैलाई बैठकले धन्यवाद व्यक्त गरेको आजपा प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् ।यसैगरी बैठकले पार्टीको हितविपरित कार्य गर्ने र पार्टी विधान, बिचार बिरुद्ध कार्य गर्ने पार्टीका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिएको छ ।दलाल एवं लुटकारी दलतन्त्र बिरुद्ध संघर्ष गर्दै आएको आजपाले भ्रष्टाचार, अनियमितता, कुशासन, बैदेशिक रोजगार ठगी, सरकारको मनोमानी कर आतंक लगायतका बिरुद्धमा आन्दोलन गर्दै आएको छ ।




























