
काठमाडौं, २९ माघ । आम जनता पार्टी (आजपा)ले शुक्रबार चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि घोषणापत्र लेखनकार्य सम्पन्न भएकाले पत्रकार सम्मेलन गर्दै घोषणापत्र सार्वजनिक गर्न लागिएको हो ।काठमाडौंको भृकुटीमण्डप स्थित रिपोर्टर्स क्लबमा शुक्रबार बिहान ११ बजे पत्रकार सम्मेलन गर्दै घोषणापत्र सार्वजनि गर्ने कार्यक्रम रहेको आजपा कार्यालय सदस्य रविन्द्र सिंहले जनाएका छन् ।आजपा अध्यक्ष प्रभु साह, नेता ऋषी धमला लगायतको विशेष उपस्थितिमा घोषणापत्र सार्वजनिक गर्न लागिएको छ । लुटकारी व्यवस्था, दलाल दलतन्त्र, भ्रष्टाचार, सरकारपिच्छेको कर आतंक बिरुद्धमा संघर्ष गर्दै आएको आजपाले शासन व्यवस्थामा आम जनताको सहभागिताका लागि आन्दोलन गर्दै आएको पार्टी हो ।अहिलेको व्यवस्था नै खराब भएकाले मुलुकको अवस्थामा पनि खराब भएको निष्कर्ष सहित आजपाले भ्रष्ट, दलाल एवं लुटकारी व्यवस्थाको आन्दोलन गर्दै आएको छ । जेनजी आन्दोलनलाई खुलेर समर्थन गर्ने र सो आन्दोलनलाई संस्थागत गर्नुपर्ने आवाज उठाउदै आएका आजपा अध्यक्ष साहले जेनजी आन्दोलनका हत्यारा, भ्रष्टाचारीलाई कारवाही हुनुपर्ने बताउदै आएका छन् ।उनले जेनजी आन्दोलन हाईज्याक भएको बताउदै जेनजी आन्दोलनका हत्यारा, भ्रष्टाचारी, हाईज्याकरका बिरुद्धमा आवाज उठाउदै जेनजी आन्दोलनलाई संस्थागत गर्न खोज्ने आजपाका उम्मेदवारलाई मतदान गर्नुपर्ने चुनावी भेटघाट, छलफलमा भन्दै आएका छन् । २१ फागुनमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि सार्वजनिक हुने आजपाको घोषणापत्र कस्तो आउँने भन्ने चर्चाको बिषय बनेको छ ।‘अब की बार जनता सरकार’ भन्दै साहले दलतन्त्र बिरुद्धको संघर्षलाई सफल बनाउन, जनतालाई देशको मालिक बनाउन र आधुनिक नेपाल निर्माण गर्ने अभियानमा सहभागि हुनका लागि सबैलाई मोवाईलमा मतदान गर्न अपिल समेत यसअघि गरेका छन् ।स्थिरता, सुशासन, बदलाव र विकास, जनउत्तरदायी–लोकतान्त्रिक अभ्यास, सिस्टम सुधार, सुशासनको आधार, दलतन्त्र विरुद्ध आम जनताको सरकार हुनुपर्नेमा साहले जोड गर्दै आएका छन् ।




























