
काठमाडौं आम जनता पार्टी (आजपा) अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रमुख दलका शीर्ष नेताहरु मुलुकलाई सञ्चालन गर्नमा असफल भएको बताएका छन् । पटक–पटक सरकारको नेतृत्व गरिसकेका नेताहरुले मुलुकलाई समृद्ध बनाउँन नसकेको र कुर्सी बचाउँने, गिराउँने खेलमा रमाई रहेको साहको दावी छ ।आजपाको केन्द्रीय कार्यालय कोटेश्वरमा आज बिभिन्न पार्टीका नेतालाई आजपामा प्रवेश गराउँदै उनले मुलुकलाई समृद्ध बनाउँन आम जनताको शासन व्यवस्था आवश्यक रहेको बताए । पटक–पटक सरकारको नेतृत्व गरिसकेका र सरकारको नेतृत्व हत्याउँने खेलमा लागेका नेताहरुकै कारण मुलुक समृद्ध हुन नसकेको उनको दावी छ । ‘सरकार बनाउँने र गिराउँने खेलमै उहाँहरुको समय बितिरहेको छ । जनताको समस्या सुन्ने, सम्बोधन गर्ने, मुलुकलाई समृद्ध बनाउँने, रोजगारी सृजना गर्ने, युवालाई नेपालमै रोजगारी दिने, भ्रष्टाचारीलाई कारवाही गर्ने लगायतका काममा उहाँहरुको ध्यान कहिल्यै गएन’ अध्यक्ष साहले भने । बिभिन्न पार्टी परित्याग गरी आजपामा प्रवेश गर्नेलाई स्वागत गर्दै उनले पार्टीले सञ्चालन गरिरहेको भ्रष्टाचारीलाई कारवाही गर्ने अभियानमा जुटन आग्रह गरे । सोसल डेमोक्रेटिभ पार्टीका पोलिटब्यूरो सदस्य तथा काठमाडौ–१० बाट सविधानसभा सदस्य प्रत्यासी कपिल थापा, राष्ट्रिय जनमुक्ति पार्टी भक्तपुर जिल्ला अध्यक्ष रमेश थापा, कलाकार कपिल कुमार क्षेत्री र अखिल नेपाल होटेल क्यासिनो मजदुर संघका केन्द्रीय नेता अमर थापा मगर रामेछाप, ललितपुरको बामपन्थी नेता सूर्यमान महर्जन लगायतका नेताहरु आजपामा प्रवेश गरेका छन् । आजपाले भ्रष्टाचार विरुद्ध २० माघमा काठमाडौंमा मोटरसाईकल र्याली गर्दैछ । भ्रष्टाचार बढदै जाँदा मुलुकको आर्थिक अवस्था विग्रदै गएको निष्कर्ष निकाल्दै आजपा भ्रष्टाचारका बिरुद्धमा बिभिन्न कार्यक्रमका साथै देशैभरी आन्दोलन गर्दै आएको छ । पार्टीको यही अभियानलाई सफल बनाउँनु सबैले आ–आफ्नो क्षेत्रमा जुटनुपर्ने उनले बताए ।




























