
२०८१ असार १९ गते काठमाण्डौ – । नेपाली कांग्रेसले एमालेसँग भएको सहमति अनुमोदन गरेको छ । बुधबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमालेसँगको सहमतिको स्वागत गरेको प्रवक्ता प्रकाशशरण महतले बताए।“ठूला दुई दलसँगै मिलेर जाने भनेपछि स्वभाविक रूपमा मार्गप्रशस्त गर्न उपयुक्त हुन्छ । बैठकले मार्गप्रशस्त गर्न आग्रह गर्ने निर्णय गरेको छ,” उनले भने । सोमबार मध्यरातमा कांग्रेस र एमालेबीच सत्तासमीकरणको सहमति बनेको थियो । दुई दलबीच संविधान संशोधनलगायत ‘एजेन्डा’सहित राष्ट्रिय सहमतिको सरकार बनाउन सहमति छ ।एमालेसँग भएको सहमति अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली पहिला प्रधानमन्त्री हुने र त्यसपछि कांग्रेसको नेतृत्वमा सरकार बनाउने भएका छन्।



























