
काठमाडौं । वैदेशिक रोजगारीमा जान साउन महिनामा ७० हजार ४ सय ४१ जनाले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिनेमा ६० हजार ४ सय ७२ पुरुष र ९ हजार ९ सय ६९ महिला छन् ।साउनमा ४२ हजार ६ सय ९३ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने २७ हजार ७ सय ४८ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।यस्तै, म्यानपावर कम्पनीमार्फत २९ हजार ४ सय ४७ जनाले श्रम स्वीकृति लिएका छन् । व्यक्तिगत रूपमा १२ हजार ४ सय ४२ जनाले श्रम स्वीकृति लिएका छन् भने ‘जीटुजी’ प्रक्रियामार्फत ७ सय १२ जना वैदेशिक रोजगारीमा गएका छन् ।गन्तव्य मुलुकमध्ये सबैभन्दा धेरै श्रम स्वीकृति संयुक्त अरब इमिरेट्स (यूएई) का लागि जारी भएको छ । विभागका अनुसार साउनमा यूएईका लागि १८ हजार ७ सय ८४ जनाले श्रम स्वीकृति लिएका छन् ।त्यस्तै, मलेसियाका लागि १२ हजार ४ सय ९८, कतारका लागि १० हजार ३ सय ६० र साउदी अरबका लागि ८ हजार ६ सय १३ जनाले श्रम स्वीकृति लिएका छन् ।गत असारमा ६९ हजार ३ सय ६२ जनाले श्रम स्वीकृति लिएका थिए । अघिल्लो महिनाको तुलनामा साउनमा श्रम स्वीकृति लिनेको संख्या १ हजार ७९ ले बढेको छ ।गत आर्थिक वर्ष २०८२/८३ मा ७ लाख ९२ हजार १ सय ८७ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांक छ ।



























