
काठमाडौं, ११ चैत । आम जनता पार्टी (आजपा)ले केन्द्रीय प्रवक्तामा सचिवालय सदस्य सुभाष साहलाई जिम्मेवारी तोकेको छ । पार्टीको केन्द्रीय कमिटी पुर्नगठनका साथै प्रदेश कमिटीको समेत जिम्मेवारी हेरफेर गरेको आजपाले प्रवक्तामा साहलाई जिम्मेवारी तोकेको हो ।काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा गत ७ चैतमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले पार्टीलाई पुर्नगठनका साथै जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको थियो । सोही अनुसार विभिन्न प्रदेशको इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष लगायतका जिम्मेवारी हेरफेर गरिएको हो ।आजपाको प्रवक्ता तोकिएका साह दुई दशकदेखी पत्रकारितामा सक्रिय छन् । आम सञ्चार तथा पत्रकारिता बिषयमा स्नातकोत्तर (एमए)को अध्ययन गरेका साह नेपाल पत्रकार महासंघको पूर्वकेन्द्रीय सदस्य समेत हुन् ।सञ्चार क्षेत्रमा प्रभावकारी भुमिका निर्वाह गर्दै आएका साहलाई प्रवक्ताको जिम्मेवारी दिएर पार्टीलाई थप शसक्त रुपमा अगाडी बढाउनुका साथै पार्टी बिचारलाई आम जनतामा राम्रोसंग लैजानेमा पार्टीले विश्वास गरेको छ ।




























