
काठमाडौं, पुस १९ गते । इरानका मारिएका जनरल कासिम सुलेमानीको अन्त्येष्टि स्थल नजिकै बुधबार भएका दुई विस्फोटमा परी कम्तीमा ९५ जनाको मृत्यु हुनुका साथै २१० भन्दा बढी घाइते भएको इरानले बताएको छ ।अमेरिकी ड्रोन हमलामा सुलेमानीको मृत्यु भएको चौथो वर्षगाँठ मनाउन इरानको दक्षिणपूर्वी सहर केरमानमा रहेको चिहानमा धेरै मानिसहरू भेला भएका बेला विस्फोट भएको हो । पहिलो विस्फोट सुलेमानीको चिहानबाट करिब ७०० मिटर र दोस्रो एक किलोमिटर टाढा थियो ।राजनीतिक र सुरक्षा मामिलाका लागि केरमान प्रान्तका डेपुटी गभर्नर रहमान जलालीले विस्फोटहरू आतङ्कवादीहरूद्वारा गराइएको बताएको छ । यसैबिच इस्लामिक रिपब्लिक अफ इरान न्युज नेटवर्कले विस्फोटको कारण अझै अनुसन्धान भइरहेको र उद्धार टोली घटनास्थलमा रहेको बताएको छ ।इरान सरकारले बिहीबार राष्ट्रिय शोकको दिन घोषणा गरेको छ । इरानका सबैभन्दा शक्तिशाली सैन्य कमाण्डरमध्येका एक सुलेमानी, जनवरी ३, २०२० मा बगदादको अन्तर्राष्ट्रिय विमानस्थल नजिकै तत्कालीन अमेरिकी सेनाको आदेशमा ड्रोन हमलामा मारिएका थिए । उहाँको गृहनगर केरमानमा अन्त्येष्टि पछि दफन गरिएको थियो ।इरानले उक्त हत्यालाई राज्य आतङ्कवाद भन्दै निन्दा गरेको छ र बदला लिने घोषणा गरेको छ । पछिल्लो घटनापछि इरानका सर्वोच्च नेता अली खामेनीले आक्रमणकारीहरूले कठोर प्रतिवाद सामना गर्ने बताउनुभएको छ । इरानी राष्ट्रपति इब्राहिम रायसीले कायरतापूर्ण कार्यका दोषी र नेताहरूलाई छिट्टै पहिचान गरी सजाय दिने घोषणा गर्नुभएको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल




























