
काठमाडौं । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी ओली सरकारमा रहिरहने हो भने देशले धेरै दुःख पाउने बताएका छन् ।कास्की जिल्ला अदालत परिसरमा संचारकर्मीहरुसँग कुराकानी गर्दै लामिछानेले आफूलाई न्यायालयप्रति विश्वास रहेको भन्दै आम जनतालाई सरकारविरुद्ध प्रदर्शनमा आउन आव्हान गरेका छन् ।उनले भने, ‘केपी ओलीको सरकार रहिरहने हो भने देशले धेरै दुःख पाउँछ । अन्यायवादी सरकारविरुद्ध देशैभरबाट सडकमा निस्कनु पर्छ । झुटा मुद्दामा फसाउने योजना छ । यो सरकार नढलेसम्म यस्तै हर्कत गरिरहन्छ । सबैले सडकबाटै दबाब दिन जरुरी भइसकेको छ ।’सहकारी ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थपका लागि आइतबार प्रहरीले जिल्ला अदालत लगेका बेला पत्रकारहरुसँगको कुराकानीमा आफूलाई न्यायलयप्रति विश्वास रहेको बताएका छन् |सरकार आफैंले भ्रष्टाचारीको संरक्षण गरेर आफूलाई झुटा मुद्दा लगाएको भन्दै लामिछानेले आक्रोश पोखे । ‘मलाई जस्तो डेढ वर्ष लगाएर केपी ओलीलाई छानबिन गर्ने हो भने सबैभन्दा बढी भ्रष्टाचारको जगमा उभिएको मानिस केपी ओली हो’, उनले भने । लामिछानेलाई प्रहरीले केहीबेर अघि अदालतमा पेस गरेको छ भने रास्वपाका नेता कार्यकर्ताले प्रदर्शन गरिरहेका छन् ।




























