
काठमाडौँ। रास्वपा सांसद सुमना श्रेष्ठले राजनीतिक थिचोमिचोका आधारमा एकजना एआईजीलाई राजीनामा गर्न लगाइएको आरोप लगाउनुभएको छ ।प्रतिनिधिसभाको सोमबारको बैठकको आकस्मीक समयमा श्रेष्ठले प्रहरी निकायमा राजनीतिक हस्तक्षेप भएको र राजनीतिक थिचोमिचोका आधारमा आइतबार राती एकजना एआईजीलाई राजीनामा गर्न लगाइएको आरोप लगाउनुभयो ।प्रहरी विधेयकमाथि छलफल गर्दै गर्दा राजनीतिक नियतमा शंका नगर्नुस भन्ने गृहमन्त्रीले यस बिषयमा जवाफ दिनुपर्ने उहाले बताउनुभयो । राजनीतिक हस्तक्षेप नहोस भनेर प्रहरी विधेयकमा संशोधन ल्याएको भन्दै उहाले ऐन पारित भएपछि मात्रै राम्रो नियत देखाउनुपर्ने हो भन्दै गृहमन्त्रीलाई प्रश्न गर्नुभयो ।त्यस्तै सांसद मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा १८ माघमा आगलागी भई २१ गते निभाएको सुनाउँदै हाइड्रोपावरका कारण आगलागी भएकाले कानुनी कारबाहीको माग गरे ।त्यस्तै सांसद अब्दुल खानले माघ २६ गते कैलालीको बदैगोरिया गाउँपालिकामा एक किशोरीको बलात्कार भएको उल्लेख गर्दै दोषीलाई कानुनी कारबाहीको दायरमा ल्याउन माग गर्नुभयो ।




























