
काठमाडौं, ५ असार । आम जनता पार्टी निकटको आम सुकुम्बासी संघले काठमाडौं महानगरपालिकाको दोहोरो चरित्र सच्याउन माग गरेको छ ।काठमाडौं महानगरपालिकाको दोहोरो चरित्रका कारण आम सुकुम्बासीलाई दुखित बनाएको भन्दै संघले त्यसलाई नसच्याए महानगरको कार्यालय घेराउ गर्ने चेतावनी समेत दिएको छ ।आम सुकुम्बासी तथा अब्यवस्थित बसोबासी संघका अध्यक्ष कालबहादुर विकले आज एक विज्ञप्ती जारी गर्दै काठमाडौं महानगरका मेयर बालेन शाहलाई दोहोरो चरित्र सच्याउन आग्रह गरेका छन् । उनले महानगरले दोहोरो चरित्र नसच्याए र सुकुम्बासीको समस्याप्रति खेलवाड गरे त्यसका बिरुद्धमा जस्तोसुकै आन्दोलन गर्न आफूहरु तयार रहेको चेतावनी समेत दिएका छन् ।भूमि समस्या समाधान आयोगले लागत संकलन गर्छू भनि जारी भएको ३५ दिने सूचना आधारमा महानगरले पत्र जारी गरेको तर फेरी असार २ गते अर्को पत्र जारी गर्दै मनोमानी गर्न थालेको संघका अध्यक्ष विकले जनाएका छन् ।‘महानगरपालिकाले व्यवस्थापन गर्ने ठाउँमा गरिब सुकुम्बासी निमुखालाई अधिकार बिहिन बनाइरहेको महानगरपालिका प्रशासन विभागको यस्तो कार्यको हामी घोरभत्र्सना गर्दछौं,’ विकले भने ।




























