
नेपालमा भ्रष्टाचार कुनै एक व्यक्तिको दोष होइन, यो चयनको शृङ्खलागत परिणाम हो । हामीले पटक–पटक अनैतिक, सिद्धान्तहीन, अवसरवादी र शक्ति–केन्द्रित मानिसहरूलाई जनप्रतिनिधि बनायौँ। त्यही क्षणबाट भ्रष्टाचारले वैधता पायो। जब नेतृत्व स्वयं नै अनैतिक हुन्छ, कर्मचारीलाई इमानदार रहनु, पैसा नकमाउनु मूर्खता लाग्छ । भ्रष्ट कर्मचारी आफै जन्मिँदैन, भ्रष्ट नेतृत्वले उसलाई जन्माउँछ र यो भ्रष्ट कर्मचारीले नयाँ इमानदार नेतालाई पनि भ्रष्टाचारी बनाइदिन्छ ।
यहाँनेर नेता मात्र होइन हामी मतदाता पनि यसमा जिम्मेवार छौं त्यो जनता हामी नै हौं जसले भोटको महत्व बुझेनौं र मासुभातसँग साट्यौँ, दुई–चार हजारमा भोट बिक्री गरिदियौं । क्लब, सुधार समिति, समूह, किर्तनमा कुर्सी, पार्टी र पौवामा केही पैसा दिएका भरमा भोट बेचिदियौं । हो, हामी जनताले चुनावलाई राष्ट्रिय आत्मनिर्णय होइन, स्थानीय सौदा बनायौँ। पर गाउँको कुरा म गर्दिनँ । त्यहाँ त चुनावको ७ दिनदेखि गाउँका गाउँ हराउँछन् । गाउँ नै उठाएर प्रत्येक दिन पिकनिक भन्दै बिहान लग्छन् र दिनभरि मासु र रक्सी खुवाएर जनतालाई भोट हाल्न बाध्य पार्छन् । यही काठमाण्डौमै क्षेत्र नं. ३ मा मेरै टोलमा टोल सुधार समितिको अध्यक्ष एमालेका स्थानीय नेताले बैठक भनेर बोलाए र ठाडै प्रस्ताव गरे यदि हामीले एक ठाउँ भोट हाल्ने हो भने एमालेको उम्मेदवारले समितिलाई चाहिने सामान किनिदिन्छन् । अब सोचौं जब भोट नै बिक्री भयो, राज्य पनि बिक्री हुनु स्वाभाविक भयो।भ्रष्ट नेता कसरी चिन्ने हो त ? धेरैको मनमा यो प्रश्न आउँछ । भ्रष्ट नेता चिन्न सक्ने कुरा छ तर हामी आँखा चिम्लिन्छौँ। केही स्पष्ट संकेतहरु जस्तो उसमा विचार हुँदैन, केवल भाषण मात्र हुन्छ । आन्दोलन र जागरण सभामा कहिल्यै हुँदैन, ऊ सधैँ सत्ता नजिक हुन्छ । आफ्ना कार्यकर्तालाई प्रश्न गर्न दिँदैन, नातागोता, ठेकेदार, विचौलियो र दलाल वरिपरि हुन्छन् । अनि आफ्नो विगतको हिसाब दिन ऊ सधैं डराउँछ । विगत ढाकछोप गर्न चाहन्छ । यो मानिस जनतालाई पटक्कै मनपर्दैन केवल उसका भरौटेको प्यारो हुन्छ । हो, यस्ता नेता देश बनाउने होइन, देश प्रयोग गर्ने पात्र मात्र हुन्।अब सुधार गर्न सक्ने नेता कसरी चिन्ने त ? सुधारक नेता चर्को नारा लगाउने गर्दैन, अरुको आलोचनामा पनि समय धेरै खर्च गर्दैन । उसले संरचना बदल्ने आँट गर्छ चाहे केही समय जनताको गाली सहनु परे पनि सहन्छ । इमानदार नेता चिन्नका लागि यस्ता संकेतहरू खोजौँ, जस्तो उसले कानुन र संस्था र सुधारको कुरा गर्छ । आफ्नै दल र समूहलाई पनि आलोचना गर्न पछि पर्दैन । कर्मचारी संयन्त्र सुधार्ने स्पष्ट योजना हुन्छ । चुनाव जितेपछि होइन, जित्नुअघि नै जवाफदेही देखिन्छ । शक्ति भन्दा जिम्मेवारी भारी देखिन्छ । यस्ता नेता धेरै छैनन् तर इतिहास बदल्न थोरै नै काफी हुन्छ।बौद्धिक वर्गको भूमिका नेपालमा कमजोर छ । आग्रह र पूर्वाग्रहबाट पीडित । तथापि नेपालको बौद्धिक वर्ग ठूलो अपराधी होइन, तर सबैभन्दा ठूलो मौन अपराधी हो। जस्तो अहिले यथास्थितिवादी र दक्षिणपन्थी भर्सेज प्रगतिशिल भएको छ तर ऊ कता छ तपाईं आफै हेर्नुहोस् । कसैको पक्षपोषण नगरी उसले नेताको चरित्र विश्लेषण सार्वजनिक गुर्न पर्ने हो , ऐन, नीति, कर्मचारी सुधारबारे दबाबमूलक बहस चलाउनुपर्ने हो, कम खराब होइन, सहीको पक्ष लिनु पर्ने हो, चुनावलाई नैतिक मुद्दा बनाउन लाग्नुपर्ने, जनतालाई ‘किन भोट दिने भनेर सिकाउनु पर्ने तर बौद्धिक वर्ग तटस्थ यथास्थितिवाद र दक्षिण पन्थलाई समर्थन गरिरहँदा भ्रष्ट शक्ति निर्भीक हुन्छ।नेपाललाई भ्रष्टाचारमुक्त बनाउने यात्रा एउटा दीर्घकालीन, बहुआयामिक संघर्ष हो। यो केवल कानुनी सुधार वा संस्थागत मजबुतीको कुरा मात्र होइन, यो हाम्रो सामूहिक चेतना, मूल्यांकन प्रणाली र राजनीतिक संस्कृतिको गहिरो परिवर्तनको प्रश्न हो। ट्रान्सपरेन्सी इन्टरनेसनलको सिपिआइ २०२४ अनुसार नेपालको स्कोर ३४ र १०० छ र विश्वका १८० देशहरूमा १०७औं स्थानमा छ। यो स्कोरले सार्वजनिक क्षेत्रमा भ्रष्टाचारलाई गम्भीर समस्या ठहराउँछ, जहाँ ८४ प्रतिशत नागरिकले सरकारमा भ्रष्टाचार ठूलो समस्या भएको बताएका छन्। तर यो संख्या मात्र होइन—२०२५ मा भएका जेनजी विरोध प्रदर्शनहरूले के देखाए भने युवा पुस्ताले अब यो कुशासन र भ्रष्टाचारलाई सहन तयार छैनन् ।
वास्तवमा यो चुनाव सरकार बदल्ने मात्र होइन, संस्कृति बदल्ने अवसर पनि हो। हामीले यसपालि पैसामा भोट नबेच्ने सामूहिक संकल्प गर्नुपर्छ, भ्रष्ट अनुहारलाई खुलेर अस्वीकार गर्नुपर्छ, नयाँ र इमानदार उम्मेदवारलाई जोखिम लिएर पनि जिताउनु पर्छ, हामीले जितायौँ, अब जवाफ देऊ भन्ने नागरिक निगरानी सुरु गर्नुपर्छ । हामी नेपालीको चुनावपछि चुप लाग्ने बानी छ यो गलत हो, चुनावपछि पनि सचेत नागरिक बनेर प्रश्न उठाइरहनुपर्छ ।हामीलाई थाहा छ नेपाली जनताले धेरै दुःख पाए। यो दुःख भाग्यले दिएको होइन,गलत छनोटले दिएको हो। अब फेरि सहनु, फेरि त्यही गल्ती दोहोर्याउनु, आफ्नै भविष्यसँग धोकाधडी गर्नु हो। यदि हामीले साँच्चै नेपाल बनाउने हो भने यसपालि भ्रष्ट नेताहरूलाई छानीछानी हराउनुपर्छ । इमानदार र प्रगतिशील शक्तिलाई अगाडि ल्याउनुपर्छ । नेपालको कर्मचारीतन्त्र उधुमै भ्रष्ट छ, कर्मचारी सुधार गर्ने दबाब आजैदेखि सुरु गर्नुपर्छ । नेपाल भ्रष्टाचारमुक्त हुन्छ कि हुँदैन, त्यो अब नेताको हातमा होइन, हाम्रो चेतनामा छ।गरिबी, बेरोजगारी, स्वास्थ्य र शिक्षाको अभावमा नेपाल दुःखले थाकेको छ र यो दुःखको जड भ्रष्टाचार हो। यदि हामीले यो चुनावलाई भ्रष्टाचारविरुद्धको निर्णायक लडाइँ बनायौं भने प्रगतिशील शक्तिहरूले सरकार बनाउन सक्छन् र सुधार सुरु गर्न सक्छन्। तर यो एक व्यक्तिको होइन, हामी सबैको जिम्मेवारी हो।
बौद्धिक वर्गले विचार दिने, युवाले सडकमा उत्रिने, जनताले मतदान गर्ने र नेताले जवाफदेही बन्ने हो । यही संयोजनबाट मात्र भ्रष्टाचारमुक्त नेपाल सम्भव छ। इतिहासले प्रमाणित गरेको छ, जब जनता जाग्छन्, परिवर्तन अवश्यम्भावी हुन्छ। अब हामीले त्यो जागरणलाई व्यवस्थित र विचारधारात्मक बनाउनुपर्छ।




























