
काठमाडौं । काठमाडौं महानगरपालिका ले शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि अनलाइन आवेदन खुला गरेको छ।महानगरअन्तर्गत सञ्चालित संस्थागत शिक्षण संस्थामा अध्ययनका लागि परीक्षा प्रणालीमार्फत छात्रवृत्ति प्रदान गरिने जनाएको छ। छात्रवृत्ति परीक्षाका लागि अनलाइन आवेदन फाराम जेठ १ गते बिहान १० बजेदेखि खुला हुने र आवेदन दिने अन्तिम मिति जेठ १० गते राति ११:५९ बजेसम्म रहनेछ।विद्यार्थीहरूले काठमाडौं महानगरपालिकाको आधिकारिक वेबसाइट वा अनलाइन आवेदन पोर्टल मार्फत आवेदन दिन सक्नेछन्।महानगरका अनुसार छात्रवृत्ति परीक्षा जेठ १७ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ। परीक्षामा माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्न सोधिनेछन्।विषयगत अङ्कभार, विद्यालयअनुसारको छात्रवृत्ति कोटा तथा परीक्षा केन्द्रसम्बन्धी विस्तृत विवरण महानगरपालिकाको वेबसाइटमा उपलब्ध रहेको जनाएको छ।



























