
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीलाई जिम्मेवार राजनीतिक शक्तिका रूपमा अघि बढाउन विगतमा छुटेका राजनीतिक तथा संगठनात्मक विषयको अध्ययन र समीक्षा आवश्यक रहेको बताएका छन् ।रास्वपाको ‘नीति, संगठन र नेतृत्व’ कार्यशालालाई सम्बोधन गर्दै लामिछानेले रास्वपा जन्मिँदै अब्बल विद्यार्थी भए पनि कक्षा ‘जम्प’ गर्दा छुटेका अध्यायहरू अध्ययन गर्नुपर्ने बताएका हुन् ।उनले पार्टीलाई जिम्मेवार स्थानमा पुर्याउने क्रममा छुटेका राजनीतिक तथा संगठनात्मक विषयमा फर्केर हेर्नुपर्ने बताए । त्यसका लागि पार्टी नै उपयुक्त प्लेटफर्म भएको उनको भनाइ छ ।लामिछानेले राजनीतिक दलका निश्चित सिद्धान्त हुने भन्दै अनुशासनको सीमाभित्र रहेर नीति र विधिको पालना गर्दै अघि बढे पार्टी दीर्घकालसम्म बलियो राजनीतिक शक्तिका रूपमा स्थापित हुने बताए ।पहिलो महाधिवेशनबाट निर्वाचित तथा हालै मनोनित नेताहरूको जिम्मेवारी आगामी पुस्ताका नेताहरूको भन्दा बढी रहेको उल्लेख गर्दै उनले नेतृत्वले प्रशिक्षण र अध्ययनमा पर्याप्त समय दिनुपर्ने बताए ।रास्वपा अहिले पार्टीको जग बसाल्ने चरणमा रहेको भन्दै लामिछानेले स्थापनाकालदेखिका नेता, संस्थापक तथा पहिलो महाधिवेशनबाट निर्वाचित नेतृत्वको भूमिकाले पार्टीको भविष्य निर्धारण गर्ने बताए ।रास्वपा कसरी स्थापित भयो भन्ने विषयको हिसाब–किताब चोकचौतारामा दिँदै हिँड्न आवश्यक नरहेको उनको भनाइ थियो । पार्टीमा आइसकेपछि आफूहरूले के गरिरहेका छन् भन्ने विषयमा आमनागरिकदेखि विश्व समुदायसम्मले हेरिरहेको उनले बताए ।लामिछानेले अहिले राजनीतिक दलका गतिविधि स्थानीय विषयमा मात्र सीमित नरहेको पनि बताए । एउटा कोठामा भएको राजनीतिक निर्णय वा छलफलको प्रभाव विश्वका अन्य स्थानसम्म पर्न सक्ने भएकाले अन्तर्राष्ट्रिय आयामलाई समेत बुझ्नुपर्ने उनको भनाइ थियो ।




























