
पहिचान नखुलेका शब गाडियो भनेर अहिले विपत्तिमा राजनीति गर्न पल्केकाहरुले अफवाह फैलाउँदैछन् । तर यसको मतलब सरकारलाई प्रश्नै साध्न हुन्न भन्ने होइन । पहिलो कुरा अहिले भेटिएका धेरै शव सग्लो अवस्थामा छैनन्। कतिपयको हातखुट्टा छुट्टिएको छ, कतिपयको शरीर टुक्राटुक्रा भएको छ, कतिपय अवस्थामा हड्डीका टुक्रा मात्र भेटिएका छन्। पूर्ण सग्लो शरीर भेटिएका शब कतिपयको अनुहारसमेत चिनिने अवस्थामा छैन। अब यस्तो अवस्थामा शवको पहिचान कसरी गर्ने ?सबैभन्दा भरपर्दो वैज्ञानिक उपाय डिएनए परीक्षण हो। शरीरको सानो टुक्रा, हड्डी वा त्यसमा बाँकी रहेको कोषबाट पनि डिएनए निकाल्न सकिन्छ। त्यसलाई सुरक्षित राखेर अभिलेख बनाउन सकिन्छ। पछि परिवारका सदस्यको डिएनएसँग परीक्षण गरेर त्यो अवशेष कसको हो भन्ने पहिचान गर्न सकिन्छ। सरल भाषामा भन्नुपर्दा, शरीर सग्लो नभए पनि पहिचान हराउँदैन।हड्डीको सानो टुक्राबाट समेत डिएनए परीक्षण गरेर त्यो व्यक्ति को हो भन्ने पत्ता लगाउन सकिन्छ। परिवारसँग तुलना गर्दा उसको नाता सम्बन्धसमेत वैज्ञानिक रूपमा पुष्टि गर्न सकिन्छ। अहिले होइन भने वर्षौँपछि पनि सुरक्षित राखिएको नमुनाबाट पहिचान गर्न सकिने सम्भावना हुन्छ। त्यसैले सेनाको वा प्रहरीको सुरक्षामा अवशेषहरूलाई नम्बर लगाएर सुरक्षित राख्ने र व्यवस्थित रूपमा व्यवस्थापन गर्ने प्रक्रिया जुन अपनाइएको छ त्यसको उद्देश्य शव हराउनु होइन, पहिचान सुरक्षित राख्नु हुन सक्छ। तर यहाँ जनताको एउटा स्वाभाविक प्रश्न भने उठ्छ।यदि शवका अवशेष सुरक्षित राखिएका हुन् भने सरकारले जनतालाई स्पष्ट रूपमा किन बुझाउँदैन ?
कति शव भेटिए ? कति पहिचान भए ? कति अवशेष सुरक्षित राखिए ? डिएनए नमुना कहाँ राखिएको छ ? परिवारले पछि कसरी आफ्नो आफन्तको पहिचान गर्न सक्छ ? हो यी कुराहरु झर्को नमानी सरकारले पारदर्शी रूपमा जनतालाई बुझाउनुपर्छ। मलाई लाग्छ सरकारले बुझाई रहेको छ तर एक खाले हुइयाँहरुले यसलाई छोप्न खोजिरहेका छन् ।अर्को कुरा पनि बुझौँ, प्राकृतिक विपत्तिमा शरीरका टुक्रा वा हड्डी मात्र भेटिनु असम्भव कुरा होइन। संसारका विभिन्न ठूला दुर्घटना र विपत्तिमा पनि यस्तै अवस्थामा मानव अवशेष संकलन गरेर वैज्ञानिक परीक्षणबाट पहिचान गर्ने अभ्यास गरिएको छ। त्यसैले ‘शव गाडियो’ भन्ने एउटा वाक्य मात्र सुनेर जनतालाई त्रसित बनाउने होइन, वास्तविक प्रक्रिया के हो भनेर बुझ्नुपर्छ। तर सरकार पनि जनताले प्रश्न सोध्दा रिसाउने होइन, शंका गर्दा झपार्ने होइन, प्रमाणसहित सबै कुरा सार्वजनिक गरेर विश्वास दिलाउनु पर्छ। किनकि दुःखमा परेको परिवारका लागि त्यो हड्डीको एउटा टुक्रा पनि सामान्य वस्तु होइन।त्यो कसैको बाबु हुन सक्छ,
कसैकी आमा हुन सक्छ,
कसैको छोरा हुन सक्छ,
कसैकी छोरी हुन सक्छ।त्यसैले यो विषयमा न अफवाह फैलाऔँ, न जनतालाई अनावश्यक रूपमा भड्काऔँ। वैज्ञानिक प्रक्रिया के हो, सरकारले स्पष्ट पारोस्। अवशेष कहाँ छन्, सरकारले बताओस्। डिएनए कसरी सुरक्षित गरिएको छ, सरकारले सार्वजनिक गरोस्। जनतालाई अँध्यारोमा राखेर होइन, सत्य र प्रमाणका आधारमा विश्वासमा लिएर विपत्तिको सामना गरौँ। नबुझेकाहरुलाई बुझेकाहरुले बताएर पीडितहरुलाई आश्वस्त पारौं किनकि हामी यहाँ रोकिएर बसिरहन सक्दैनौ । हामीले फेरि उठ्नु छ । संघर्षको मैदानमा हामीले फेरि डट्नु छ ।
पुण्य प्रसाई




























