
जिल्ला निर्वाचन कार्यालय काभ्रेपलान्चोकले चालु आर्थिक वर्षका लागि अन्तिम मतदाता नामावली तयार गर्ने प्रयोजनका लागि मतदाता नामावली अद्यावधिक कार्यक्रमको तालिका सार्वजनिक गरेको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचन पछि जिल्लामा ५ सय ९४ मतदाता थपिएका छन् ।‘२०७९ फागुन २२ देखि वडा कार्यालय र जिल्ला निर्वाचन कार्यालय धुलिखेलमा २०८० वैशाख ९ गतेसम्म १८ वर्ष उमेर पुगेका व्यक्तिहरूको नामावली प्रकाशन हुनेछ’–जिल्ला निर्वाचन अधिकारी उमेश राईले भन्नुभयो–‘त्रुटि सच्याउने, दोहोरो नाम हटाउने, मृत्युको नाम हटाउने र दाबी विरोध गर्ने प्रयोजनका लागि २०७९ फागुन २३ गते देखि २५ गतेसम्म निवेदन दिन सकिन्छ । मृत्युको हकमा थप एक दिन २६ गतेसम्म निवेदन दिन सकिनेछ ।
’ निर्वाचन कार्यालयमा स्वयं उपस्थित भएर तथा विद्युतीय सामाग्री मार्फत निर्वाचन कार्यालयको वेभ साइटमा रहेको इमेल, फ्याक्स तथा अनलाइन मार्फत निवेदन दिन सकिने व्यवस्था गरिएको निर्वाचन अधिकारी राईले बताउनु भयो । मतदाता स्वयं वा निजका परिवारका सदस्यहरूले नाम हटाउने मृत्यु, बसाई सराई, दोहोरो नाम सम्बन्धमा अन्य कुनै पनि व्यक्तिले निवेदन दिन सक्नेछन् ।प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा जिल्लामा ३ लाख १० हजार ६३ मतदाता थिए । अहिले मतदाताको संख्या ३ लाख १० हजार ६ सय ५७ जना मतदाता पुगेका छन् । जसमा महिला १ लाख ५२ हजार ३ सय ५१ र पुरुष १ लाख ५८ हजार ३ सय ४, अन्य २ जना रहेका छन् ।नयाँ नाम दर्ताका लागि अनलाइन मार्फत विभिन्न विवरणहरू भरे पछि आयोगले दिएको मितिमा आफूलाई पायक पर्ने निर्वाचन कार्यालयमा गएर फोटो खिचाउन सकिनेछ । फोटो खिचाउनु अघि फाराम भर्ने समयमा आफूलाई कहाँ पायक पर्ने सोही ब्यहोरा उल्लेख गर्नु पर्नेछ । काभ्रेपलान्चोक जिल्लाको नागरिक वा नेपालका ७७ वटै जिल्लाका नागरिकहरूले आफू बसेकै स्थानबाट फाराम भरेर फोटो खिचाउन सकिने व्यवस्था आयोगले गरेको छ ।अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको अध्यक्षता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पौडेलले राजनीतिक दलहरूले समयमै सबै नागरिकहरूको मतदाता नामावलीमा विवरण भरेर फोटो खिचाउन तथा मृत्यु भएका व्यक्तिहरूको नामावली हटाउन सहयोग गर्न अनुरोध गर्नु भयो ।जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपकुमार गौतमले नागरिकहरूलाई सहज बनाउने उद्देश्यले निर्वाचन आयोगले तयारी गरेको अनलाइन कार्यक्रम प्रभावकारी बनाउँदै आम नागरिकहरूले विवरण भर्न अनुरोध गर्नु भयो । कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरू, नागरिक समाजका प्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधिहरू, कार्यालय प्रमुखहरूको सहभागिता रहेको थियो ।Source:News of Nepal




























