‘नेतृत्वले गलत गर्दा पनि टुलुटुलु हेरेर बसिरहने या त चरम अवसरवादी हुन् वा दास ।‘ कांग्रेसका संस्थापक नेता एवम् लोकतन्त्रप्रति आस्थावान हामी सबैका आदर्श, जननायक बीपी कोइरालाको उद्गार हो यो ।स्थानीय तहको चुनावका सन्दर्भमा गठबन्धनका नाउँमा हुँदै गरेका कतिपय सम्झौताले वीपीको यो उद्गारप्रति मनन् गर्न उद्वेलित गरेको छ। धरातलीय यथार्थको प्रतिकूल नेतृत्वबाट लादिने निर्णय सच्याउन पहलकदमी लिन सक्दैनौं भने या त हामी दास हौं या चरम अवसरवादी ! चरम अवसरवादी र दासको बिल्ला भिरेर आफूलाई कठपुतलीका रूपमा चिनाउने अथवा तर्क र बहस गरेर नेतृत्वलाई यथार्थ एहसास गराउन वा सच्चिन घच्घच्याउने ? यो हामी आफैंमा निहित छ।
स्थानीय तहको चुनावका सन्दर्भमा कतिपय पालिकामा केन्द्रबाट हुँदै गरेको सम्भावित तालमेलले कांग्रेसजन र शुभेच्छुकहरूमा गम्भीर चिन्ता र चासो व्यक्त भइरहेको छ। आ-आफ्नो पालिकाको वस्तुस्थितिबारे नेतृत्वलाई बुझाउने र गलत भइरहेको छ भने सच्याउन दबाब बढाउने पहिलो कर्तव्य सम्बन्धित पालिकाकै नेता-कार्यकर्ताहरूको हुन आउँछ।त्यसैअनुरूप वीरगञ्ज महानगरबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसको एउटा प्रतिबद्ध कार्यकर्ताका नाताले म यहाँ (वीरगञ्ज)को वास्तविक चित्र चर्चा गर्न गइरहेको छु । यो मेरो व्यक्तिगत नभएर वीरगञ्जका आम कांग्रेसजनको बुझाइ हो।