साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचकसँगै कारोबार रकम पनि वृद्धि भएको छ । यस दिन परिसूचक १६ दशलमव २४ अंक बढेर १ हजार ९८५ दशमलव ४३ विन्दुमा पुगेको हो ।अघिल्लो कारोबार दिन रू. ८७ करोड बराबरको शेयर कारोबार भएकोमा आज १ अर्बभन्दा बढीको कारोबार भएको हो ।बजार निकै घटेका कारण अधिकांश कम्पनीको शेयर मूल्य निकै तल्लो विन्दुमा झरेको छ भने सूचीकृत कम्पनीहरूले लाभांश प्रस्ताव गर्न थालेका छन् । यी कारणले गर्दा बजारमा सकारात्मक प्रभाव परेको लगानीकर्ता बताउँछन् । केही नीतिगत अवरोधलाई समाधान गर्न सकेमा शेयर बजारले नयाँ विन्दु कायम गर्न सक्ने उनीहरूको भनाइ छ ।मंगलवार कारोबारमा आएका २७२ धितोपत्रको ४३ लाख ३६ हजार ५८३ कित्ता शेयर ५० हजार २९६ पटकमा ५० हजार २९६ पटकमा रू. १ अर्ब १७ करोड बराबरको शेयर कारोबार भएको छ । मंगलवार सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ६४ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ८६ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ७२ प्रतिशत वृद्धि भएको छ ।यस दिन कारोबारमा आएका धितोपत्रमध्ये शुभम पावरको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशत वृद्धि भएको छ । शेयर मूल्य प्रतिकित्ता रू. ९७५ दशमलव ८० पुगेको हो । त्यस्तै थ्री स्टार हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशत वृद्धि भएर रू. ४०८ दशमलव ५० पुगेको हो ।मंगलवार सबैभन्दा बढी इमर्जिङ नेपालका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज ८ प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ९७० मा झरेको छ ।त्यस्तै आरविवि म्युचुअल फण्ड २ को इकाई मूल्य ५ दशमलव ६४ प्रतिशत घटेर रू. ७ दशमलव ७० कायम भएको हो ।यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ओगटेको छ । कम्पनीको रू. १० करोड ६४ लाख बराबरको भएको हो । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४८५ दशमलव ५० कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा ओरियण्टल होटल्स छ । कम्पनीको रू. ४ करोड १० लाख बराबरको शेयर खरीदविक्री भएको हो ।कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये होटल एण्ड पर्यटन समूहको परिसूचक शून्य दशमलव ०९ प्रतिशत र व्यापार समूहको परिसूचक शून्य दशमलव ९३ प्रतिशत घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ ।मंगलवार लगानीकर्ताको आकर्षण हाइड्रोपावर समूहको शेयरमा परेको छ । सोही कारण उक्त समूहको सूचक सबैभन्दा बढी ३ दशमलव २१ प्रतिशत वृद्धि भएको छ । अधिकांश हाइड्रोपावर कम्पनीको शेयर मूल्य उच्च दरले वृद्धि भएको छ ।