काठमाडौं । बच्चामा हुने प्रतिभा परिवारको देन हो । परिवार त्यो संस्था हो, जसले बच्चालाई जन्म दिन्छ, उसको पालनपोषण गरेर उसलाई मनोवैज्ञानिक संरक्षण प्रदान गर्छ, उसलाई समाज र राष्ट्रको योग्य बनाउँछ । बच्चाको लागि हामी जीवनभरि संघर्ष गर्छौं । संघर्षको व्यवहारमा अभिभावकका दुई इच्छा हुन्छन्, एक बच्चाको सुरक्षा र संरक्षण, अर्को उसको मानसिक विकास । पालनपोषणको लागि अभिभावक दिनरात परिश्रम गर्छन्, ताकि उनीहरुले आफ्नो यो बच्चाको भरणपोषण सरलताले गर्न सकून् । पशुपक्षी, यहाँसम्म कि हिंस्रक जनावर पनि आफ्नो यो कर्तव्यको पालन यथाशक्तिले गर्छन् । चरा पनि चुच्चोमा चारो बोकेर ल्याउँछ र आफ्ना बच्चालाई खुवाउँछ । किनकि मानिस प्रकृतिको विकसित प्राणी हो, यसैले ऊ आफ्नो बच्चाको पोषण सँगसँगै मानसिक विकास गर्न चाहन्छ, साथै बच्चाको ज्ञान र प्रतिभाको विकास गर्दै जाने उसको पूर्ण प्रयास रहन्छ । यो प्रतिभाले नै उसलाई समाजकल्याण योग्य बनाउँछ । ऊ आफ्नो यही प्रतिभा र योग्यताबाट समाजमा आफ्नो स्थान बनाउँछ ।
आज देशको कुना कुनामा राम्रा उच्च विद्यालयको संख्या बढेको छ । महानगरमा र साना शहरका सम्पन्न परिवारका बच्चा एल.के.जी, यु.के.जी र नर्सरी, प्रिनर्सरी स्कुलमा पढ्न उत्सुक रहन्छन् । सरकारी स्कुललाई मानिसहरु बेकामे स्कुल ठान्न थालेका छन् । ठूला–ठूला स्कुल आज शिक्षाको क्षेत्रमा उद्योगको भूमिका निभाइरहेका छन् । राम्रा र महङ्गा स्कुलमा प्रवेश दिलाउनु अभिभावकको प्रतिष्ठाको कुरा भएको छ । यस्ता स्कुलमा प्रवेश दिलाउनको लागि उनीहरुले स्कुललाई धेरै पैसा दिनुपर्छ, साथै यी स्कुलका अनेकौं शर्त पनि सहनुपर्छ ।
यी सबैको पछाडि अभिभावकको एउटै उद्देश्य छ त्यो हो, उनीहरुको बच्चाको प्रतिभाको विकाश र समय सँगै दौडने इच्छा, ताकि उनीहरु र उनीहरुका बच्चा यो दौडमा कतै पछाडि नपरुन् । यी सारा कुरापछि पनि अधिकांश अभिभावक आफ्ना बच्चाको उच्श्रृङ्खलताबाट चिन्तित र दुखी छन् । वास्तवमा सिनेमाको जस्तो संस्कृति र ग्ल्यामरले बच्चाको मानसिक सोचलाई यति धेरै प्रभावित पारेको छ कि यसको प्रदूषणबाट अभिभावक हताश र निराश हुँदै गैरहेका छन् । निराशाको घेरामा आशाको प्रकाश विद्यमान छ, यसैले यो विषयमा अभिभावकले रचनात्मक सोचबाट काम लिनुपर्छ ।
वास्तवमा प्रतिभाको आफ्नो मनोविज्ञान छ । जस्तै, चक्कुको काम काट्नु हो, तर त्यो चक्कुले शरीरमा छिरेको गोली निकालेर एक व्यक्तिको प्राण बचाउन सकिन्छ भने अर्कोतिर त्यही चक्कुले मानिसको गला काटेर हत्या गर्न पनि सकिन्छ । यो चक्कुको उपयोगितामा निर्भर हुन्छ । यसै प्रकार प्रतिभा त प्रतिभा हो, त्यो अभ्यासद्वारा सङ्गीत, शिल्प अथवा कलाको रुपमा मुखरित हुनसक्छ या फेरि पाकेट मार्नमा सिद्धहस्त भएर त्यसमा प्रवीणताको रुपमा प्रकट हुनसक्छ ।
परिवारको वातावरणको प्रभाव बच्चामा धेरै पर्छ । यदि पतिपत्नीमा मनमुटाव रहन्छ, उनीहरु आपसमा झगडा गरिरहन्छन् भने एक छानोमुनि बसेर पनि नदीको दुई किनारझैं जीवन निर्वाह गर्छन् भने बच्चा पनि तनावग्रस्त रहन थाल्छ । ऊ आफ्नो मनको कुरा आमाबाबुसँग भन्न सक्दैन । यसको प्रभावले ऊ अन्तर्मुखी हुन्छ । चुपचाप लागेर बस्नु उसको बानी बन्छ । यदि परिवारमा छोरी नै छोरी छन् भने पनि उनीहरुको सोच प्रभावित हुन्छ, किनकि कैयौं छोरीपछि जब घरमा एक छोरा जन्मन्छ तब अभिभावक ऊप्रति धेरै प्रेम देखाउन थाल्छ । उसलाई घर बाहिर जाने स्वतन्त्रता पनि हुँदैन । यसै प्रकार यदि बच्चा परिवारको पहिलो सन्तान हो भने पनि उसको प्रतिभाको विकासमा प्रतिकूल प्रभाव पर्छ । यस्ता बच्चालाई आमाबाबु धेरै माया गर्छन्, जसले उसको सोचलाई प्रभावित गर्छ । कामकाजी महिलाका बच्चाको प्रतिभाको विकासमा पनि केही विपरीत प्रभाव देखिन्छ । वास्तवमा यस्ता आमाबाबुलाई समय मिल्दैन र उनीहरुले बच्चाको बारेमा बुझ्न सक्दैनन् । यस्तो बच्चाको मानसिक सोच पनि कुण्ठित हुन थाल्छ ।
यदि परिवार संयुक्त छ अथवा एकल छ भने पनि बच्चाको व्यक्तित्व विकास र प्रतिभा विकासमा कसैको ध्यान हुँदैन । ठूलो परिवारमा जहाँ बच्चाको संख्या धेरै हुन्छ अथवा जहाँ उनीहरुको व्यक्तिगत योग्यता अथवा प्रतिभा हेर्ने मानिस कोही हुँदैन, त्यहाँ उनीहरुको प्रतिभा कुण्ठित हुन्छ । सानो परिवारका बच्चाको विकास छिटो र सन्तुलित रुपमा हुन्छ, किनकि आमाले उसको आवश्यकता बुझेको हुन्छ, जब घर बाहिर उसको मनोवैज्ञानिक आवश्यकता बुझ्ने मानिसहरु कम हुन्छन् । जुन स्कुलमा शिक्षकले बच्चामा व्यक्तिगत रुपमा नजर राख्छन् अथवा जब शिक्षक कुनै बच्चाको प्रतिभासँग परिचित हुन्छ तब उसको प्रतिभामा निखार आउन थाल्छ । प्रतिभा विकास गर्नको लागि स्नेह, सहयोग, प्रेरणाको आवश्यकता हुन्छ । यसको अभावमा बच्चा आफूलाई असुरक्षित र तनावग्रस्त अनुभव गर्छ उसमा निराशा आउँछ ।
प्रेरणा पाएर बच्चामा बोल्ने, अभिनय गर्ने, खेल्ने, सामाजिक कार्य र सङ्केतको विकास सरलताले हुन्छ । यदि यस्ता बच्चाको इच्छा दमन गरियो भने उनीहरुको प्रतिभा कुण्ठित हुन्छ । जसरी पानी पाएर बिरुवा लहलहाउँछ त्यसैगरी स्नेह, प्रेरणा र प्रोत्साहन पाएर प्रतिभा निखारिन थाल्छ । प्रेरणा पाएर बच्चामा संघर्ष गर्ने शक्ति विकास हुन्छ । उनीहरुमा समायोजन गर्ने र समन्वय गर्ने भावना आउँछ । पहिलो हुन नसक्दाको दुःख व्यक्तिले तब सरलताले सहन गर्छ जब उसले दोस्रो स्थान प्राप्त गर्छ । सन्तोषको सन्तुष्टिले उसलाई निरन्तर पहिलो हुनको लागि प्रेरित गरिरहन्छ । अन्त्यमा उसले पहिलो श्रेणी पाउँछ ।
परिवारमा बच्चाको स्थितिले पनि प्रतिभा विकासमा प्रभाव पार्छ, चाहे ऊ सानो होस् वा ठूलो । सानो हुँदा उसले आमाबाबुको प्रेम त पाउँछ नै साथै ठूला दाजुदिदीको सहयोग पनि पाउँछ । सानो बच्चा धेरैजसो आफ्ना दाजुदिदीबाट प्रेरित हुन्छ र राम्रो–नराम्रो बानीको अनुकरण ठूलाबाट गर्छ ।
सानो परिवार आधुनिक जीवनशैलीको आदर्श बनेको छ र अब सानो परिवारले नै मान्यता पाउन थालेको छ । जुन घरमा पाँच–पाँच बच्चा हुन्छन् त्यो परिवारको बारेमा मानिसको धारण पनि राम्रो हुँदैन । ठूलो परिवारमा आपसमा कलह हुने सम्भावना धेरै रहन्छ । बाँडनु पर्ने कारणले पनि उनीहरुमा तनाव रहन्छ । आर्थिक साधन सीमित भएको कारण सबै बच्चालाई पढ्न र बढ्न समान अवसर प्राप्त हुँदैन । सबैको लागि राम्रो स्कुल फिसको खर्च उठाउन पनि सम्भव हुँदैन । परिवारका सदस्य आर्थिक अभावको कारण तनावबाट ग्रसित रहन्छन् । यस कारण सबै बच्चाको आवश्यकता पूरा हुनसक्दैन । यस्ता परिवारबाट आएका बच्चा एकातिर हीन भावनाबाट ग्रसित हुन्छन् भने अर्कोतिर उनीहरुको समुचित मानसिक विकास पनि हुन पाउँदैन । यदि कुनै कारणले एक बच्चा अगाडि बढ्यो भने पनि दोस्रोले पहिलो बच्चाको ईष्र्या गर्न थाल्छ । ईष्र्याको यस्तो भावना नै पारिवारिक एकतामा बाधा बनेको छ र परिवार टुट्न थालेका छन् ।
परिवारको बारेमा केही मनोवैज्ञानिकको भनाइ छ – परिवारमा बच्चाको प्रतिभा निखारिन्छ । गोल्डस्टिन नाम गरेका विद्वानको भनाइ छ – “परिवार त्यो झोलुङ्गो हो, जसमा भविष्यको प्रजातन्त्रात्मक सामाजिक व्यवस्थाका बच्चा जन्मन्छन् र प्रारम्भिक शिक्षा पाउँछन् ।”
बच्चाको संस्कारलाई अभिभावकको संस्कारको देन भनिन्छ । यदि आमाबाबुको बच्चासँगको व्यवहार कर्कश हुन्छ भने बच्चामा पनि त्यसको त्यस्तै प्रभाव पर्छ । यो व्यवहार पिँढी दर पिँढी चल्दै जान्छ । वास्तवमा यसको पछाडि पनि मनोवैज्ञानिक कारण रहेको छ, बच्चाले यसैलाई उचित सम्झन्छ । उसलाई उचित–अनुचितको ज्ञान गराइएको हुँदैन ।
जुन परिवारमा अभिभावक बच्चालाई आफ्नो साथी सम्झन्छन् ती परिवारका बच्चामा प्रतिभा मुखरित हुन थाल्छ । यस्ता अभिभावक आफ्नो अधिकांश समय बच्चासँगै बिताउछन् । उनीहरु बच्चाको कार्यमा रुचि लिन्छन् । उनीहरुको कार्य, व्यवहार र सफलताको प्रशंसा गर्छन् । यी कार्य अथवा व्यवहार चाहे जति नै सानो या सामान्य किन नहुन् अभिभावकले यसको प्रशंसा गर्छन् । यस्ता अभिभावक आफ्नो बच्चाको सानो सानो कामको पनि प्रशंसा गर्छन् । ओहो, सलोनी तिमी त धेरै राम्रो लेख्छ्यौ, तिमीले स्कुलमा बधाई पायौ कि पाइनौ !
प्रतिभा विकासको लागि के जरुरी भने अभिभावकले आफ्नो बच्चामा विश्वास व्यक्त गर्नुपर्छ । उनीहरुको कुरा ध्यानले सुन्नुपर्छ र उनीहरुको समस्या गम्भीरताले सुन्नुपर्छ । उनीहरुद्वारा सोधिएको प्रश्नको जवाफ बिल्कुल सही दिनुपर्छ ।
“मेरो टाउको नखा, गएर बाबासँग सोध ...” जस्ता उपेक्षा अथवा उदासीन जवाफ पाएर भविष्यमा बच्चाले तपाईंसँग केही सोध्ने साहस जुटाउन सक्नेछैन र उसको प्रतिभा कुण्ठित हुनेछ ।
बच्चा यदि चित्रकार बन्न चाहन्छ या उसको रुचि पत्रकारिता या सङ्गीतमा छ भने उसको यो प्रतिभामा विश्वास गरेर आफ्नो स्नेह, लगाव र रुचि उसमा प्रदर्शित गर्ने । उसको आवश्यकता ध्यानमा राख्ने ।
“चित्रकारितामा लागि आजकाल कुन कलर चलिरहेको छ ... तिमीले भोलि लिएर आउनु, ब्रश पनि ल्याउनु ... जे जति सामान तिमीलाई चाहिन्छ त्यो भोलि लिएर आउनु ... यो पैसा राख ... ।” यस प्रकार स्नेह, सहयोग र प्रेरणा बच्चाको प्रतिभा निखार्नमा सहायक बन्नेछ ।
मनोवैज्ञानिक भाषामा यस्ता बच्चाको स्वीकृत बच्चाको श्रेणीमा राखिएको छ । आशय यो हो, स्वीकृत बच्चालाई जहाँ अभिभावकको स्नेह, सहयोग र मान सम्मान मिल्छ त्यहीं अस्वीकृत बच्चालाई उपेक्षा र गाली बाहेक केही मिल्दैन । स्वीकृत बच्चाको प्रतिभा अवश्य निखारिन्छ, यसैले परिवारमा स्वीकृत बच्चा आउन् ।
यदि परिवारमा कुनै अस्वीकृत बच्चा छ, विकलाङ्ग छ, मन्द बुद्धि अथवा अरुको तुलनामा कमजोर छ भने त्यो बच्चाको उपेक्षा नगर्नुस् । वास्तवमा यस्ता बच्चा तपाईंको सहानुभूति, स्नेह र सहायताका पात्र हुन् । यसै प्रकार केही परिवारमा आज पनि छोरालाई भन्दा छोरीलाई हीन दृष्टिले हेर्ने गरिन्छ, जुन उनीहरुमाथि अन्याय त हुँदै हो साथै मनोविज्ञानको दृष्टिले पनि अनुचित हो ।
स्वीकृत बच्चा पनि धेरै माया पाएर बिग्रन्छन्, छिट्टै उनीहरु परिवारमा बोझ साबित हुन्छन् ।
सामाजिक भावना प्रतिभा विकासमा सहयोगी हुन्छ । देख्ने गरिन्छ जुन बच्चा स्कुल जान्छन्, उनीहरुमा यो भावना धेरै विकसित हुन्छ, जुन बच्चा स्कुल जाँदैनन्, उनीहरुमा सामाजिक भावनाको कमी पाइन्छ । स्कुल जाने बच्चामा निम्न गुणको विकास हुन्छ, जुन समग्र रुपमा उनीहरुको प्रतिभा शक्तिलाई प्रभावित गर्छः
. एकाग्र भएर सिक्ने इच्छा
. सहयोगी भावना ।
. अरुसँग सहानुभूति ।
. सही समयमा काम गर्ने बानी ।
. बुद्धिको विकास ।
. नैतिक आचरण एवं आदर्शबाट प्रेरणा ।
. शारीरिक विकास ।
. भाषाको ज्ञान, बोल्ने क्षमताको विकास ।
. संवेगको विकास ।
. सामूहिक उत्तरदायित्व वहन गर्ने क्षमता ।
. प्राकृतिक प्रेम ।यी सबैको साथसाथै बच्चामा सामाजिक भावना विकास हुन्छ । उसमा परस्पर शिष्टता र शालीनताको गुण विकसित हुन्छ, जसले उसको प्रतिभालाई नयाँ नयाँ रुपमा प्रकट हुन उत्साहित गर्छ । उसमा कक्षामा बस्ने बानी विकसित हुन्छ ।
स्कुलमा बच्चा विभिन्न प्रकारको खेल खेल्छन्, उनीहरुमा खेलाडी भावना विकसित हुन्छ । यो भावना नै उनीहरुमा उत्तरदायित्वको भावना ल्याउँछ । यस प्रकार बच्चाको प्रतिभा मुखरित गर्नको लागि सामाजिकता एक गुणको रुपमा विकसित हुन्छ ।
बच्चामा प्रतिभा सुप्तावस्थामा हुन्छ । विभिन्न मनोवैज्ञानिकको भनाइ छ, प्रतिभाको विकास बिस्तारै अवस्था अनुसार हुन्छ । सानो उमेरका शिशुमा गरिएको प्रयोगको निष्कर्षअनुसार बच्चाको व्यक्तित्वमा शुरुदेखि नै फरक पर्छ । एक बच्चा प्रारम्भिक अवस्थामा चुपचाप रहन्छ भने अर्को आँखा च्यातेर मुस्काउन थाल्छ । तेस्रो रोइरहन्छ र चौथो सुतिरहन्छ । जन्मेपछि नै देख्न पाइन्छ बच्चाको स्वभाव, बानी, व्यवहारमा अन्तर हुन्छ । यी स्वभाव, बानी र व्यवहार समयसँगै बदलिन्छ । केही मनोवैज्ञानिकको भनाइ छ, प्रारम्भिक अवस्थाको यही कुराबाट बच्चाको व्यक्तित्व, प्रतिभा र भविष्य प्रभावित हुन्छ । जेसुकै होस्, बच्चामा आएको परिपक्वताको आधारमा केही अलग–अलग विशेषता देखिन्छ ।
विद्यालय जानुभन्दा अगाडि बच्चाको सामान्य उमेर ३–६ वर्षको हुन्छ । यद्यपि आजकाल बच्चा छिट्टै स्कुल जान थाल्छन् तर बच्चाको सामाजिक र व्यक्तिगत बुझाइको सन्दर्भमा हेर्ने हो भने यो उमेरका बच्चा आफ्नी आमालाई धेरै माया गर्छन् । परिवारका अन्य सदस्यसँग पनि उनीहरुको लगाव हुन्छ तर आमाको अगाडि अरु सदस्यको लगाव फिका हुन्छ । यो उमेरका बच्चा छिट्टै छेउछाउका आफू समान उमेरका बच्चासँग घुलमिल हुन्छन् । जब आमासँग बाहिर जान्छन् तब पनि उनीहरु नयाँ परिस्थितिसँग छिट्टै समन्वय गर्छन् र नयाँ नयाँ मित्र बनाउँछन् । यो उमेरमा केटाकेटीको अन्तर कमै देख्न पाइन्छ, केटा केटी सँगै खेल्छन्, खान्छन् ।
प्राथमिक कक्षामा पुगेपछि बच्चामा कैयौं अन्तर आउन थाल्छ । यो उमेरमा बच्चा स्कुल जान उत्साही हुन्छन् । यदि अभिभावकले उसको यो इच्छा पूरा गरे भने ऊ पढाइमा पनि अगाडि बढ्छ । उसमा स्वतन्त्रता र आत्मविश्वासको भावना विकसित हुनथाल्छ । यो उमेरमा बच्चाको सम्बन्ध उसको स्कुलका मित्रसँग पनि हुनथाल्छ । ऊ आफू समान उमेरका बच्चासँग रुचि लिन थाल्छ । केटीहरु केटीसँगै बस्न मनपराउछन् । वास्तवमा यो उमेर पुग्दा पुग्दै बच्चामा लिङ्ग भेदको बुझाइ आउन थाल्छ । यहाँसम्म कि केटाकेटीको खेलमा पनि अन्तर आउन थाल्छ । साना बच्चाप्रति दाइको स्नेह बढ्न थाल्छ । यस प्रकारको स्नेह प्रदर्शनबाट बच्चामा आपसमा प्रेम बढ्छ, जुन पछि गएर पारिवारिक सम्बन्धको दृढताको रुपमा प्रकट हुन्छ ।
यो उमेरमा बच्चाका मित्रहरु घरमा पनि आउन थाल्छन् । बच्चाका साथीमा नजर राख्नु अभिभावकको दायित्व हो । यो उमेरमा नै बच्चा आफ्नो कुनै शिक्षक, मित्र या नजिकको नातेदारलाई आदर्शको रुपमा स्वीकार गर्छ र मनमनै ऊप्रति धेरै स्नेह गर्न थाल्छ । उसलाई उसको यस प्रकारको एक पक्षीय स्नेहको के अर्थ हो भन्ने पनि थाहा हँुदैन । तर वास्तवमा यो एक भावनात्मक पक्ष हो । मित्रप्रति उसको यो बढ्दै गएको लगावले उसमा कैयौं प्रकारको भावना ल्याउँछ । मित्रसँग स्नेह, सहानुभूति, सहयोग आदिको भावना, सामाजिकता आदि यही उमेरमा विकसित हुन्छ । किनकि मित्रताको सिद्धान्त हो, मित्रता केवल समान रुचि भएका बच्चामा बढ्छ, यसैले यो उमेरमा नयाँ नयाँ मित्र बन्छन्, पुराना छुट्छन् । वास्तवमा यस कारणले छुट्छन् कि उनीहरुको रुचिमा अन्तर आउन थाल्छ यो अन्तरले नै उनीहरुलाई एकअर्काबाट टाढा लग्दै जान्छ । यो उमेरमा नै बच्चामा झगडा पनि हुन्छ । झगडाको कारण व्यक्तित्व प्रदर्शनको भावना हो । परस्पर विचारको अन्तरको कारणले पनि झगडा हुन्छ । अभिभावकले बच्चाका यी झगडालाई त्यति गम्भीरताले लिनु हँुदैन र बच्चालाई स्वयं एकअर्कालाई बुझ्ने र समन्वय गर्ने अवसर दिनुपर्छ ।
किशोरावस्था नै प्रतिभा विकसित हुने उमेर हो, अतः यो उमेरको बारेमा अभिभावकले सदैव नजर राख्नुपर्छ । वास्तवमा यो उमेरमा बच्चाबच्चीमा शारीरिक र मानसिक परिवर्तन तीव्रताका साथ हुन्छ । बच्चाको रुचि विपरीत लिङ्गप्रति पनि उत्पन्न हुन्छ । उनीहरुमा नयाँ–नयाँ रुचि विकास हुन्छ । आदर्शमा पनि परिवर्तन हुनथाल्छ । बच्चामा प्रदर्शनको भावना पनि विकसित हुन्छ । यो उमेरमा ऊ सजिन, राम्रो हुन, राम्रा लुगा लगाउन मनपराउँछ ।
उमेर बढ्दै जाँदा उसमा एक प्रकारको बुझाइ आउँछ र यो बुझाइसँगै उसमा जुन विकृति आउँछ त्यसमा अभिभावक गम्भीर हुनुपर्छ, किनकि उत्तरकिशोरावस्थामा केटा केटी भावनाको आवेशमा आएर उनीहरुले गर्नु नहुने आचरण गर्छन् । यो उमेरमा केटा केटीलाई बाटो भुल्नबाट बचाउन जरुरी छ । तपाईं छोराछोरीलाई आप्mनो साथी सम्झनुस् ।
वर्तमानअनुसार बच्चामा प्रतिभा विकसित हुनको लागि उनीहरुको व्यक्तित्वलाई दुई भागमा बाँडिएको छः
१. अन्तर्मुखी
२. बहिर्मुखी
अन्तर्मुखी व्यक्तित्वका धनी बच्चा कम बोल्ने खालका, चिन्तनशील, स्वभाव भएका संकोची, अध्ययनशील, विचारवान, सामाजिक लोकप्रिय, एकान्तमा बसेर चिन्तन गर्ने, झूठो नबोल्ने, सरल स्वभाव भएको, प्रिय, मौलिक विचार भएको दूरदर्शी कवि र लेखक हृदय, अरुको ध्यान आफूतिर आकर्षित गर्ने, गणित र विज्ञान विषयमा रुचि लिने खालका हुन्छ । अभिभावक यदि यसमा रुचि लिन्छन् र उसको प्रतिभाको मूल्याङ्कन समय समयमा गर्छन् भने उनीहरुलाई जीवनको हर क्षेत्रमा सफल बनाउन सकिन्छ ।
जहाँसम्म बहिर्मुखी व्यक्तित्व भएका बच्चाको कुरा छ, उनीहरु समायोजन गर्ने खालका, सामाजिक त हुन्छन् तर उनीहरु आत्मप्रशंसा र चाप्लुसी प्रिय हुन्छन् । यस्ता बच्चाको जीवनको उद्देश्य खाउपिउ र मोज गर भन्दा बढ्ता केही हुँदैन । अध्ययन बाहेक सामाजिक काम गर्न, बोल्नमा प्रखर तथा इमान्दारीताका साथसाथै दुनियाँको वर्तमान स्थितिमा ढल्न कुशल हुन्छन् । यस्ता बच्चा उचित अनुचितको ज्ञान राख्दै सबै काम गर्नमा प्रवीण हुन्छन् ।
केही बच्चामा दुवै प्रकारको प्रवृत्ति पाइन्छ, जुन प्रोत्साहन, अवसर, संयोग र संवेगको कारण या त प्रकट रुपमा अगाडि आउँछ या प्रोत्साहनको अभावमा प्रभावहीन हुन्छ ।
अतः बच्चाको भावनाको मूल्याङ्कन आफ्नो स्तरमा गर्ने । उनीहरुको सुख सुविधामा ध्यान दिने । यस विषयमा अभिभावकको भूमिका त्यो कुमालेको झैं हुनुपर्छ, जो काँचो भाँडा बनाउनमा त्यसलाई आकार दिनमा, फोहर निकाल्नमा बाहिरी रुपमा त पिट्छ, चोट दिन्छ तर आफ्नो दोस्रो हात सहाराको रुपमा तल राखिरहन्छ ताकि असन्तुलित रुपमा लागेको चोट ऊ स्वयं आफ्नो हातले सहोस् ।