अभिनेता सौगात मल्लले एक वेब सिरिजका लागि समय दिइरहेका छन् । यसैले गर्दा उनले झन्डै १० महिनाको समय सिरिजको लागि छुट्याएका छन् । अंग्रेजी भाषामा निर्माण हुने सिरिजको लागि केही अडिसन समेत उनले गरिसकेका छन् । ‘सिरिजको लागि प्रक्रिया मै छु । केही चरणको अडिसन समेत भइसकेको छ । तर, पक्का भने होइन’ सौगातले एक भेटमा बताए ।एक अवार्ड समरोहमा भाग लिन पुगेका सौगातले सिरिजलाई पक्का भयो भने अन्य निर्माताहरुलाई असर नगरोस् भनेर नै नयाँ फिल्म फागुन अगाडि नगर्ने भनेको स्वीकारे । अंग्रेजी सिरिजले सौगातसँग लामो समय मागेका कारण उनले नयाँ निर्मातालाई फागनुपछि मात्र सम्पर्क गर्न आग्रह गर्न थालेका हुन् । सौगातले केही दिनअघि अंग्रजी भाषामा बन्ने नेपाली फिल्ममा पनि खेल्ने चर्चा थियो तर पारिश्रमिकमा कुरा नमिलेपछि सौगातले त्यो फिल्म छाडेका हुन् । उनले यो फिल्म नगरेपछि ‘दुई नम्बरी’ साइन गरेका थिए ।
यो फिल्मको पोखरामा धमाधम सुटिङ भइरहेको छ । सौगातले छिट्टै नै यो फिल्मको सेट ज्वाइन गर्दैछन् । अंग्रेजी सिरिजका लागि नेपालको कास्टिङ एजेन्सीले दयाहाङ राईलाई प्रक्रियामा सामेल गराउन खोजेको थियो । तर, दयाले भने आफूसँग समय नभएकाले अडिसनतिर लाग्न नभ्याउने जवाफ दिएका थिए ।