
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने कदम घातक हुने चेतावनी दिएको छ ।बुधबार सिंहदरबारमा बसेको रास्वपा सचिवालय बैठकले उपसभामुखलाई पदबाट हटाउन खोजिएको भए गलत हुने र सत्तागठबन्धनका लागि घातक हुने चेतावनी दिएको हो । बैठकपछि रास्वपा सभापति रवि लामिछानेले उपसभामुखलाई हटाउने काम गलत हुने र दुई तिहाई शक्तिको दुरुपयोग नगर्न ध्यानाकर्षण गरेको बताउनुभयो ।यस बिषयमा सत्तापक्षका नेताहरुको पनि ध्यानाकर्षण गराइएको उहाले बताउनुभयो । लामिछानले सहकारी प्रकरणमा आफुमाथि लगाएको आरोप विरुद्ध बोल्ने ठाँउ रहेको भन्दै अन्य सहकारी पिडितहरुको समस्यालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।पोखरामा आफुलाई देखाइएको कालोझण्डा सहकारी पिडितको पिडा रहेको भन्दै खुल्ला रुपमा छलफल गर्न आफु तयार रहेको उहाले बताउनुभयो । लामिछानले दुईतिहाईको बलमा सदनमा कुनै अप्रिय काम गर्न खोज जनताले प्रतिकार गर्ने धारणा राख्नुभयो ।त्यस्तै रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले १८ महिना अघि लेखिएको पत्रलाई लिएर उपसभामुखलाई हटाउने काम गलत भएको बताउनुभयो । उहाले संवैधानिक परिषदलाई आफ्नो अनुकुल बनाउनका लागि सत्तागठबन्धनले उपसभामुख हटाउन खोजेको जिकिर गर्नुभयो ।उहाले उपसभामुखका बिषयमा कुनै औपचारिक कदम नचालिएकाले पर्ख र हेरको अवस्थामा पार्टी रहेको बताउनुभयो ।




























