
काठमाडौं । काठमाडौं जिल्ला अदालतले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न रहेको भन्दै दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि जेल चलान गरेको छ । न्यायाधीश धु्रवराज कार्कीको इजलासले बिहीबार राति गत चैत १५ गते तीनकुनेमा भएको घटनाका सन्दर्भमा प्रसाईँसहित सात जनालाई थुनामा पठाउने आदेश दिएको हो ।पुर्पक्षका लागि जेल पठाइएकामा प्रसाईंसहित तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल, केशव बस्नेत र कुमार तामाङ रहेका छन् ।अदालतले सोही घटनामा संलग्न ३२ जनालाई १० हजारदेखि एक लाख रुपैयाँसम्म धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको छ ।न्यायाधीश ध्रुवराज कार्कीको एकल इजलासमा बिहीबार दिउँसो थुनछेक बहस सकिएपछि १२ः०० बजेपछाडी मध्यरातमा सो आदेश आएको हो ।चैत १५ गते प्रसाईंको नेतृत्वमा काठमाडौंको तीनकुनेमा हिंसात्मक प्रदर्शन हुँदा २ जनाको ज्यान गएको थियो भने निजी घर, सरकारी गाडीसँगै जडिबुटी प्रशोधन केन्द्रमा आगजनी र भाटभटेनीमा लुटपाटसमेत भएको थियो ।




























