
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पनि विश्वासको मत दिने निर्णय गरेको छ ।लोसपाको आइतबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको हो । लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोका अनुसार प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय भएको छ ।‘पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ । विश्वासको मत दिएपछि सरकारमा सहभागी हुने बाटो खुल्नेछ’, नेता महतोले भने ।बैठकले संसदमा सत्ता पक्षको बेन्चमा बस्ने निर्णय पनि गरेको छ । यसअघि लोसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपनि प्रतिपक्षी बेन्चमा बसेको थियो । लोसपाकोतर्फबाट प्रतिनिधिसभामा चार सांसद छन् ।प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायतले पनि विश्वासको मत दिने निर्णय गरिसकेको छ । प्रधानमन्त्री दाहालले (भोलि) सोमबार विश्वासको मत लिँदै छन् ।Source:Sourya Dainik




























