
संसदीय समितिले सिंहदरबारस्थित रहेको पुरानो संसद भवनलाई रेट्रोफिट गरेर मर्मत गर्न सरकारलाई निर्देशन दिएको छ। बिहीबार राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकले सिंहदरबारस्थित रहेको पुरानो संसद भवनलाई रेट्रोफिट गरेर मर्मत गर्न सरकारलाई निर्देशन दिएको हो।वि.सं. २०१६ सालमा निर्माण भएको सो संसद् भवन भूकम्पका कारण क्षतिग्रस्त अवस्थामा रहेको थियो। समितिले सो भवनलाई पुनःनिर्माण नगरी पुरानै अवस्थामा राखिराख्न रेट्रोफिट गरेर मर्मत गर्नका लागि शहरी विकास मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति मायाप्रसाद शर्माले जानकारी दिनुभयो।त्यस्तै समितिले सिंहदरबारस्थित निर्माणाधीन नयाँ संसद भवन परिसरमा बन्दै गरेको पुस्तकालय भवन निर्माणका क्रममा रहेकाले भवन निर्माणमा नमिलेका कतिपय कुरालाई परिमार्जन गर्न पनि निर्देशन दिइएको बताउनु भयो।उहाँले भन्नुभयो, ‘विशेष गरेर दुईवटा नयाँ पुस्तकालय भवन निर्माण हुँदैछ। त्यसका विषयमा छलफल हामीले पहिला पनि गर्दै आएको हो। निर्देशन पनि दिइराखेका थियौँ। र त्यहाँ केही विषय मिलेको छैन भनेर भनिएको थियो। त्यो मिलाउनका निमित्त केही नयाँ ढंगले निर्णय पनि भएको रहेछ, व्यवस्थापन भएको रहेछ। आज पनि परिमार्जित गर्न सकिने विषयलाई परिमार्जित गर्नका निमित्त फेरि पनि निर्देशन दिने निर्णय भएको छ। समितिले शहरी विकास मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवलाई बोलाएर उहाँहरुलाई यही निर्देशन दिएका छौँ।’बैठकमा उपस्थित राष्ट्रिय सभा सदस्यले पुस्तकालय लगायत संघीय संसदका भवन समयमै र गुणस्तरीय रुपमा सम्पन्न हुनुपर्नेमा जोड दिएका थिए।source:Gorkhapatra




























