
काठमाडौँ, पुस ६ गते । नेपाल मानव धर्म सेवा समितिले जाजरकोट र रुकुमका भूकम्पपीडितका लागि राहत सामग्री वितरण गरेको छ । जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नम्बर १ र ३ का एक हजार आठ सय घरधुरीलाई र रुकुम जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्बर १ र २ का आठ सय घरधुरीलाई ६० लाख बराबरको राहत सामग्री वितरण गरिएकोे हो ।तिहारमा देउसीभैलो खेलेर संकलन गरिएको रकमका साथै समितिमा आबद्ध व्यक्तिबाट संकलित रकमले राहत सामग्री वितरण गरिएकोउक्त समितिका राष्ट्रिय कार्यसमिति उपाध्यक्ष टेकबहादुर थापाले जानकारी दिनुभयो । भूकम्पपीडितका लागि जाडोबाट जोगिन कम्बल तथा चामल, तेल, दाल, चिउरालगायत पदार्थ वितरण गरिएको थियो ।भूकम्पबाट पीडित दुई जिल्लामध्ये जाजरकोट भेरी नगरपालिका वडा नम्बर १ र ३ मा धेरै मानिसको मृत्यु हुनाका साथै करोडौँको जनधनको क्षति भएकाले जाजरकोटलाई राहत वितरणको प्राथमिकतामा राखिएको सो समितिले जनायो । समितिका अनुसार नेपाल मानव धर्म सेवा समितिका संरक्षक विभूजी महाराजलगायत समितिका अन्य पदाधिकारी राहत वितरणमा सहभागी हुुनुहुन्थ्यो । त्यसअवसरमा भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले उहाँहरुको स्वागत गर्दै राहात सामग्री उपलब्ध गराएकामा आभार व्यक्त गर्नुभएको थियो । रासस




























