काठमाडौं । आज विश्व क्यान्सर दिवस ।यही दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’ दिँदै छ ।विद्यालय केन्द्रित यो खोप अभियान आजदेखि फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन गर्न लागिएको मन्त्रालयले बताएको छ ।नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर एचपीभी खोप अभियान सञ्चालन गर्न लागिएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको छ । यस अभियानमा १६ लाख ८८ हजार ७६८ जना किशोरीलाई खोप दिइने लक्ष्य सरकारले राखेको छ ।
मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले देशभरि तोकिएको उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप दिन लागिएको बताउँदै सबैजना आआफ्नोतर्फबाट अभियानमा जोडिन आग्रह गरे ।