काठमाडौं । आइतबार बिहान मुस्ताङमा दुर्घटना भएको तारा एयरको जहाजमा रहेका १४ जनाको शव फेला परेको छ। बाँकीको खोजी कार्य जारी छ।यो खबरले रूकुम पश्चिमको चौरजहारी नगरपालिका-३ लापुते गाउँ यतिबेला शोकमा डुबेको छ।मुस्ताङमा तारा एयरको जहाज दुर्घटनामा परेका २५ वर्षीय पाइलट उत्सव पोखरेल अब फर्केर आउने छैनन् भन्ने सुनेर लापुते गाउँ शोकमा परेको हो।उत्सव चौरजहारीले पाएका पहिलो र एक मात्र पाइलट हुन्।गत वर्ष वैशाखमा तारा एयरमा आवद्ध भएका उनले फिलिपिन्सबाट पाइलट कोर्स पूरा गरेका थिए। दुर्भाग्य उत्सवले एक वर्षमात्रै नेपाली आकाशमा उडान भर्न पाए।उत्सवका ठूला बुवाका छोरा दिवश पोखरेलका अनुसार उत्सवले कक्षा १० सम्मको पढाइ चौरजहारीकै भ्याली पब्लिक स्कुलबाट पूरा गरेका थिए।त्यसपछि काठमाडौंको भिएस निकेतनबाट प्लस टु गरेर पाइलट पढ्न फिलिपिन्स गए। फिलिपिन्समा पाइलट कोर्स पूरा गरेर उत्सव एक वर्षअघि स्वदेश फर्किएर तारा एयरको फर्स्ट अफिसर पाइलटका रूपमा काम सुरू गरेका थिए।