
काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ । धान खेतीका लागि आवश्यक मलको आपूर्ति सुनिश्चित गर्दै किसानलाई राहत दिने उद्देश्यले मन्त्रालयले विभिन्न माध्यमबाट मल आयात प्रक्रिया अघि बढाएको हो ।मन्त्रालयका अनुसार सरकार–सरकार (जीटूजी) सम्झौताअन्तर्गत भारतबाट ३० हजार मेट्रिक टन युरिया मल ल्याइँदै छ । उक्त मल असार अन्तिमदेखि साउन दोस्रो साताभित्र नेपाल आइपुग्ने अपेक्षा गरिएको छ । भारतसँग भएको ८० हजार मेट्रिक टन मल आपूर्ति सम्झौताअनुसार पहिलो चरणमा ५० हजार मेट्रिक टन मल साउन दोस्रो सातासम्म नेपाल भित्रिने मन्त्रालयले जनाएको छ ।त्यसैगरी, अन्तर्राष्ट्रिय टेन्डरमार्फत १ लाख ८० हजार मेट्रिक टन रासायनिक मल आयात गरिनेछ । यसमध्ये ६० हजार मेट्रिक टन डीएपी र १ लाख २० हजार मेट्रिक टन युरिया रहेको मन्त्रालयले जनाएको छ । यी मल साउनको पहिलो सातासम्म नेपाल भित्र्याउने लक्ष्य राखिएको छ ।साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका अनुसार ओमानमा लोडिङ प्रक्रियामा रहेको ३० हजार मेट्रिक टन युरिया मल असार अन्तिमसम्म कलकत्ता बन्दरगाह आइपुग्नेछ भने साउन दोस्रो सातासम्म नेपाल भित्रिनेछ ।यस्तै, ३० हजार मेट्रिक टन डीएपी मल होर्मुज पार गरी विशाखापट्टनम बन्दरगाह पुगिसकेको र असार १० देखि २० गतेभित्र नेपाल ल्याइने तयारी छ । अर्को ३० हजार मेट्रिक टन युरिया मल जहाजमा लोड भइसकेको र साउन पहिलो साता कलकत्ता बन्दरगाह हुँदै साउन अन्तिमसम्म नेपाल आइपुग्ने जनाइएको छ ।मन्त्रालयले मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा मलको उपलब्धता प्रभावित भए पनि किसानलाई आवश्यक मल उपलब्ध गराउन निरन्तर प्रयास भइरहेको जनाएको छ ।चालु आर्थिक वर्षमा करिब ६ लाख मेट्रिक टन रासायनिक मल कृषकलाई अनुदानमा उपलब्ध गराउने सरकारको लक्ष्य रहेको छ ।



























