
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको पश्चिमी भूभागमा सरदरभन्दा केही उत्तरतर्फ अर्थात् नेपालनजिक रहेको छ भने पूर्वी भूभागमा सरदर स्थानकै आसपास रहेको छ।विभागका अनुसार आज कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोसी र वाग्मती प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। मधेस, कोसी र वाग्मती प्रदेशका तराई भूभागमा भने आंशिक बदली रहने पूर्वानुमान छ।हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने विभागले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षा हुन सक्ने विभागको अनुमान छ।रातिको समयमा हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपात र तराईका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।विभागले भारी वर्षा हुने सम्भावित क्षेत्रमा आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरेको छ।



























