
काठमाडौं । नेपाल र भारतबीच सीमा सुरक्षा, सीमापार अपराध नियन्त्रण तथा प्रविधिमैत्री सीमा व्यवस्थापनलाई प्रभावकारी बनाउने सहमति भएको छ ।काठमाडौंमा सम्पन्न नेपाल–भारत १०औँ समन्वय बैठकले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि सूचना आदानप्रदान र संयुक्त निगरानी बढाउने निर्णय गरेको हो ।सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेल र भारतीय सशस्त्र सीमा बलका महानिर्देशक सञ्जय सिंघलको नेतृत्वमा भएको बैठकमा नवौँ बैठकका निर्णय कार्यान्वयनको अवस्थाबारे समीक्षा गरिएको थियो । बैठकमा दुवै देशका सुरक्षा निकायका साथै गृह तथा परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, नापी विभाग र भारतीय दूतावासका प्रतिनिधिहरू सहभागी थिए ।बैठकले मानव बेचबिखन, लागुऔषध तस्करी, नक्कली नोटको कारोबार, सीमापार आपराधिक सञ्जाल तथा तेस्रो मुलुकका नागरिकको अनधिकृत प्रवेश नियन्त्रण गर्न तत्काल सूचना आदानप्रदान गर्ने सहमति गरेको छ । खुला सीमाको दुरुपयोग रोक्न सीमा नाकामा कागजात जाँचमा कडाइ गर्ने, शंकास्पद व्यक्तिबारे सूचना साझा गर्ने र दशगजा क्षेत्रमा संयुक्त गस्ती सञ्चालन गर्ने निर्णय पनि भएको छ ।त्यसैगरी, दशगजा क्षेत्रमा हुने अतिक्रमण, अनधिकृत खेतीपाती तथा अवैध संरचना हटाउन संयुक्त प्रयास जारी राख्ने सहमति भएको छ । सीमा स्तम्भको मर्मत, सम्भार तथा पुनर्निर्माणका लागि पनि दुवै देशका सम्बन्धित निकायबीच समन्वय बढाइनेछ ।सीमा सुरक्षालाई आधुनिक र प्रविधिमैत्री बनाउन दशगजा क्षेत्रमा निगरानी क्यामेरा जडान गर्ने, प्रमुख नाकामा सामान जाँच गर्ने यन्त्र तथा धातु पहिचान गर्ने उपकरण राख्ने र दुवै देशले आ–आफ्नो क्षेत्रमा मानवरहित विमानको प्रयोग बढाउने विषयमा छलफल भएको छ । सुरक्षा चुनौती सामना गर्न आधुनिक प्रविधिको प्रयोग र विशेष तालिममा समेत सहकार्य विस्तार गर्ने सहमति भएको छ ।यसैगरी, बाढी, पहिरो र भूकम्पजस्ता विपद्का समयमा संयुक्त उद्धार क्षमता अभिवृद्धि गर्न चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालयमा संयुक्त जल उद्धार अभ्यास सञ्चालन गर्ने विषयमा छलफल भएको छ ।सीमा नाकाबाट आवतजावत गर्ने वैधानिक यात्रुलाई सहज सेवा उपलब्ध गराउन सहायता कक्ष विस्तार गर्ने तथा खेलकुद र सांस्कृतिक कार्यक्रममार्फत दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ बनाउने सहमति पनि भएको छ ।सन् २०१२ देखि पालैपालो नेपाल र भारतमा आयोजना हुँदै आएको दुई देशका सुरक्षा निकायबीचको समन्वय बैठकको ११औँ संस्करण आगामी वर्ष भारतमा आयोजना हुने भएको छ ।




























