काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको भूमिका सन्तोषजनक रहेको टिप्पणी गरेका छन् ।नेता कोइरालाले प्रधानमन्त्री देउवाले पार्टी र सरकारको नेतृत्वको रूपमा लिएको निर्णयमा आफूहरूको कुनै विरोध नभएको बताए । सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले पार्टीभित्र सबैसँग सल्लाह गरेर नै देउवाले निर्णय लिने भएकाले यसमा असहमति राख्नुपर्ने कुनै कारण नरहेको प्रतिक्रिया दिए ।
पार्टीका पदाधिकारीहरूलाई पनि देउवाले पदअनुसारको भूमिका दिएको महामन्त्री कोइरालाको भनाइ छ ।"हरेक निर्णय गर्दा हाम्रो पार्टी सभापति शेरबहादुर देउवाजीले सबैसँग सल्लाह गर्नु हुन्छ । सर्बदलीय बैठकमा मुख्यमुख्य मान्छेहरू गएर निर्णय गरिन्छ । तर धेरैजसो निर्णयहरू ठिकै भएको छ । यसमा हाम्रो कुनै विरोध छैन । पदाधिकारीहरू सबैले आ–आफ्नो भूमिका पाइरहेका छन्," उनले भने ।नेता कोइरालाले राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति सुद्धीकरण आयोग आफूमातहत राख्ने/नराख्ने भन्ने कुरा प्रधानमन्त्रीको अधिकारको कुरा भएकाले त्यसमा विरोध गर्नुको कुनै अर्थ नरहेको बताए ।