
आर्थिक मन्दीका कारण सहकारी क्षेत्र प्रभावित बनिरहेको अवस्थामा काभ्रेपलाञ्चोक जिल्लामा रहेका दुई सहकारीबिच एकीकरण (मर्जर) सम्झौता भएको छ । जिल्लाको पनौती नगरपालिका–४ मा रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था र बनेपा–७ मा रहेको ज्योति बहुउद्देश्यीय सहकारी संस्थाबिच बुधबार मर्जर सम्झौता भएको हो ।दुई सहकारीबिच भएको यो मर्जर सम्झौतालाई सहकारीकर्मीले जिल्लाकै बिग मर्जरका रूपमा लिएका छन् । १० वटा सहकारी संस्था एकीकरण भई काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला कार्यक्षेत्र बनाएको सामुदायिक सहकारी विसं २०५१ मा स्थापना भएको हो । यो सहकारीमा ५१ हजार २४६ जना सेयर सदस्य रहेका छन् भने चार अर्ब ४६ करोड ९२ लाख ३९ हजार कुल पुँजी रहेको छ ।यस्तै छ हजार नौ सय सेयर सदस्य रहेको ज्योति बहुउद्देश्यीय सहकारी संस्था विसं २०५५ मा स्थापना भएको हो । ज्योति बहुउद्देश्यीय सहकारी संस्थाको कुल पुँजी एक अर्ब ४१ करोड ६२ लाख ३० हजार रुपियाँ रहेको छ । दुवै संस्थाको आगामी साधारण सभाबाट मर्जरको प्रस्ताव पारित भएपश्चात् दुवै संस्थाको एकीकृत कारोबार सुरु हुने सामुदायिक बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले जानकारी दिनुभयो ।उहाँले दुइ संस्था एकीकरणपछि संस्थाको सेयर सदस्य सङ्ख्या ५८ हजार १४६ जना र कुल पुँजी पाँच अर्ब ८८ करोड ५४ लख ६९ हजार रुपियाँ तथा सेयर पुँजी ४६ करोड ९१ लाख ६१ हजार रुपियाँ पुग्ने बताउनुभयो ।सहकारीको लगानीमा रहेको ऋण चार अर्ब ६६ करोड ३७ लाख ४५ हजार हुने छ भने बचत निक्षेप चार अर्ब चार करोड ८७ लाख २१ हजार रुपियाँ हुने प्रमुख कार्यकारी अधिकृत बस्नेतले बताउनुभयो ।




























