
मंगलबार राति १० बजे भुटानी शरणार्थीको कोटामा नेपालीलाई ठगी गरेको आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाणको बयान पूरा भएको जिल्ला सरकारी वकिल कार्यालयका अधिकृतले बताए ।सरकारी वकिलको रोहबरमा प्रहरीले सोमबार उनलाई बयान गराएको थियो । तर, ५ वटा प्रश्नको उत्तर दिएपछि खाणले बयान गर्न अस्वीकार गरेपछि भोलिपल्ट पुनः बयान लिइएको हो । शरणार्थीको नाममा नेपालीलाई ठगेको घटनामा खाणले आफू निर्दोष रहेको बयान दिएका छन् । ‘बयानमा उहाँले आफ्नो कसुर अस्वीकार गर्नुभएको छ’ अनुसन्धानमा संलग्न एक जना अधिकृतले भने, ‘विभिन्न कोणबाट उहाँसँग दिनभर बयान लिएका थियौँ ।’ठगीमा संलग्न मध्येका आरोपी पूर्व सभासद् आङटावा शेर्पाको बयान लिन बाँकी छ । पूर्व सहसचिव बालकृष्ण पन्थी नेतृत्वको प्रतिवेदन फेरवदल गरेर तत्कालीन गृहमन्त्री खाण, मन्त्रालयका सचिव टेकनारायण पाण्डे र स्वकीय सचिव नरेन्द्र केसीसँगको मिलेमतोमा गिरोहले ठगीधन्दा चलाएको प्रहरीको दाबी छ ।




























