
नेकपा (एमाले) वागमती प्रदेशको नयाँ नेतृत्व चयनका लागि विद्युतीय मेसिनमार्फत मतदान गरिने भएको छ ।सोमबार काठमाडौंको भृकुटीमण्डपमा उदघाटन गरिने उक्त अधिवेशनका लागि विद्यु्तीय मेसिनमार्फत मतदान गरिने एमालेका नेता रामेश्वर फुयाँलले जानकारी दिए ।अधिवेशनमा झण्डै साढे १२ सय प्रतिनिधि सहभागी हुने फुयाँलले बताए । उनका अनुसार काठमाडौँका विभिन्न स्थानबाट नेता तथा कायकर्ताहरू झाँकीसहित अधिवेशनस्थल प्रवेश गर्नेछन् ।अधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव गरी पाँच जना पदाधिकारीसहित २४० जनाको प्रदेश नेतृत्व छनोटका लागि अधिवेशन हुँदैछ ।एमाले प्रदेश कमिटी अध्यक्षमा रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्ण दाहाल, नुवाकोटका केशवराज पाण्डे, काठमाडौंका सानु श्रेष्ठ, दोलखाकी रचना खड्का लगायतले आकांक्षी छन् । तर, नेतृत्व चयनका लागि सकभर सहमतिमै टुंग्याउने प्रयास जारी छ ।




























