
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले पन्जाब किङ्ग्सलाई सात विकेटले हराएको छ ।मुम्बईमा पन्जाबले दिएको एक सय ५२ रनको लक्ष्य हैदराबादले १८ ओभर पाँच बलमा मात्र तीन विकेट गुमाएर भेटायो । हैदराबादका लागि एडन मारक्रमले ४१ र निकोलस पुरनले ३५ रन बनाए ।यस्तै राहुल त्रिपाठी ३४ र अभिषेक शर्मा ३१ रन बनाएर आउट भए । बलिङतर्फ पन्जाबका राहुल चाहरले दुई र कागिसो रबाडाले एक विकेट लिए ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाब निर्धारित २० ओभरमा अलआउट हुँदै एक सय ५१ रन बनायो ।पन्जाबका लागि लायम लिभिङस्टोनले ६० र शाहरुख खानले २६ रन बनाए । बलिङतर्फ उमरन मलिकले चार र भुवनेश्वर कुमारले तीन विकेट लिए ।
आजको जितसँगै हैदराबाद आठ अङ्कसहित तालिकाको चौथो स्थानमा उक्लिएको छ । पन्जाब भने ६ अङ्कसहित सातौँ स्थानमा छ ।




























