काठमाडौं : विभागीय टोली नेपाल एपीएफ क्लब एन्फा महिला लिगको शीर्ष स्थानमा उक्लिएको छ।सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा कर्णाली प्रदेशलाई ६–० गोल अन्तरले पराजित गर्दै एपिएफ तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । एपिएफलाई जित दिलाउन निशा थोकरले खेलको चौथौ मिनेटमा, रश्मी कुमारी घिसिङले ११ र २५ औं मिनेटमा, ५३ औं मिनेटमा गीता राना मगर र ७७ औं मिनेटमा हिमा रावतले गोल गरिन् । त्यस्तै एक गोल आत्मघातीमार्फत पाएको थियो ।एपिएफले ५ खेलमा ४ मा जित र १ खेल बराबरी खेलेको छ । कर्णाली भने समान खेलमा १ अंकका साथ नवौं स्थानमा छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना जारी लिगमा १० टोलीको सहभागिता छ ।