
काठमाडौं। कर्णाली याक्सविरुद्ध पाँच विकेटको सहज जितसँगै नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाण्डू गोर्खाज प्लेअफनजिक पुगेको छ ।प्रतियोगिताका काठमाण्डूको यो चौथो जित हो । काठमाण्डूले यसअघि पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।
दोस्रो र तेस्रो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सविरुद्ध क्रमशः २९ र पाँच विकेटले पराजित भएको काठमाण्डूले चौथो र पाँचौँ खेलमा लुम्बिनी लायन्स र चितवन राइनोजविरुद्ध २२ र ५३ रनको जित निकालेको थियो ।यता, चौथो हार बेहोरेको कर्णालीको प्लेअफ यात्रा भने कठिन बनेको छ । कर्णाली यसअघि पहिलो खेलमा चितवन राइनोजसँग चार विकेटले पराजित भएको थियो । दोस्रो खेलमा लुम्बिनी लायन्सलाई नौ विकेटले हराएको कर्णालीले तेस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ४५ रनको र चौथो खेलमा विराटनगरविरुद्ध तीन विकेटको हार बेहोरेको थियो ।आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा कर्णालीले प्रस्तुत गरेको १५० रनको लक्ष्य काठमाण्डूले १८ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो ।शनिबार काठमाण्डूलाई जित दिलाउन गेरहार्ड इरास्मसले सर्वाधिक ४३ रन बनाए । अविजित रहेका गेरहार्डले ६३–३ को स्थितीबाट जोन सिम्पसनसँग चौथो विकेटका निम्ति ८६ रनको साझेदारी गर्दै काठमाण्डूलाई जितसम्म डोहोर्याएका हुन् ।सिम्पसनले २१ बलमा चार चौका र दुई छक्कासहित ४१ रन जोडे । ओपनर बेन चाल्सवर्थले २१ बलमा दुई चौका र तीन छक्कासहित ३४ रन थपे । मिलिन्द कुमार १५ रनमा रनआउट भए । अर्का ओपनर आकाश त्रिपाठीले आठ रन बनाए । काठमाण्डूका राशिद खान गोल्डेन डक भए ।कर्णालीका नन्दन यादवले तीन विकेट लिए । पवन सर्राफले एक विकेट लिए ।त्यसअघि टस जितेर ब्याटिङमा आएको कर्णाली निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४९ रनको योगफल खडा गरेको थियो ।कर्णालीका अलराउन्डर गुल्सनकुमार झाले आक्रामक ब्याटिङ गर्दै ४९ रन बनाए । उनले २२ बलमा ६ चौका र दुई छक्का प्रहार गरे । ८८–६ को स्थितिबाट करणले दीपक डुम्रेसँग सातौँ विकेटका निम्ति ५५ रनको साझेदारी गर्दै कर्णालीलाई सम्मानजनक लक्ष्यसम्म पुर्याएका थिए । दीपकले १० रन बनाए ।पवन सर्राफले २९ बलमा दुई चौका र दुई छक्कासहित ३५ रन जोडे । ओपनर मार्क वाटले २७ बल खेल्दा एक चौका र दुई छक्कासहित ३० रन बनाए । अर्का ओपनर प्रियांक पन्चाल भने ‘रोयल डक’ भए । खेलको पहिलो बलमै काठमाण्ढूका कप्तान करण केसीले ‘कट एन्ड बोल्ड’ गरे ।विलियम बोसिस्टोले एक र कप्तान सोमपाल कामीले ६ रन थपे ।काठमाण्डूका राशिद खानले दुई विकेट लिए । चार ओभरमा उनले ३७ रन खर्चिए । मिलिन्द कुमार र सन्तोष यादवले समान एक विकेट लिए ।



























