काठमाडौं| सामाजिक सञ्जाल प्लेटफर्म टिकटक आधिकारिक रूपमा नेपालमा दर्ता भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरका अनुसार टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भइसकेको हो। टिकटक सामाजिक सञ्जाल व्यवस्थित गर्ने निर्देशिकाबमोजिम दर्ता भएको हो।मन्त्रालयले राखेका सबै शर्त र सामाजिक सञ्जाल व्यवस्थित गर्ने निर्देशिकाले व्यवस्था गरेका विषयहरूमा सहमत भएपछि सूचीकृत गरेर प्रमाणपत्र दिएको उहाँले बताउनुभयो । टिकटकले हिजो नेपालमा सूचीकृत भएको प्रमाणपत्र पाएको छ ।वर्तमान सरकार गठन भएपछि गत भदौ ६ गते मात्रै टिकटक प्रतिबन्ध फुकुवा गर्ने निर्णय भएको थियो। यससँगै आधिकारिक दर्ता गरेर सञ्चालन गर्नको लागि टिकटकले समय माग गरेको थियो।टिकटकले कागजात उपलब्ध गराउन कात्तिक तेस्रो सातासम्मको समय मागे पनि कात्तिकको सुरूमै कागजात उपलब्ध गराएको थियो। दुई सय पृष्ठको कागजात अध्ययन गरिसकेपछि दर्ता गरिएको हो।सूचीकृत नभएका सामाजिक सञ्जाल प्लेटफर्मलाई सरकारले नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्ने निर्देशिकामा उल्लेख छ ।