
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले घरेलु कामदारहरु असुरक्षित एवं शोषित भईरहेको बताएका छन् । असुरक्षित एवं शोषित भईरहेका घरेलु कामदारहरुका लागि सरकारले तुरुन्त घरेलु कामदार सम्बन्धी कानून निर्माण गर्नुपर्ने उनले बताए । आजपा निकटको आम ट्रेड युनियन फेडरेशन नेपालको आज काठमाडौंमा बसेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले घरेलु कामदारहरुको हकहित एवं अधिकार सहितको कानून निर्माण हुनुपर्ने बताए । ‘घरेलु कामदारहरु शोषित पीडित भएका छन् । उनीहरु असुरक्षित छन् । मालिकले काममा लगाउँदासम्म काम पाउने र मालिकले जुनबेला मन लाग्छ त्यही बेला उसलाई निकाल्न पाउँने । घरेलु कामदारको पारिश्रमिक समेत थोरै हुने ।
उनीहरुलाई चाडपर्व आउँदा होस वा कुनै भईपरि विदा समेत नपाई मालिकको दबाबमा काम गरिराख्नुपर्ने हुन्छ’ आजपा अध्यक्ष साहले भने, ‘नेपालमा अहिलेसम्म घरेलु कामदारका लागि कुनै कानून निर्माण भएको छैन् । म आउँने दिनमा यस बारेमा संसदमा आवाज उठाउँछु । घरेलु कामदारका लागि कानून निर्माणको पहल गर्छु ।’ नेपालमा घरेलु कामदार सम्बन्धी कुनै कानून नभएकाले यहाँ घरेलु कामदारहरु मालिबाट पीडित भएको र काम अनुसारको पारिश्रमिक समेत नपाउँने सत्य कुरा सरकारलाई थाहा नहुनु दुर्भाग्य भएको उनले बताए । घरेलु कामदार सम्बन्धी केही देशमा कानून निर्माण भएकाले त्यहाँ घरेलु कामदारको अधिकार सुरक्षित रहेको र काम अनुसारको पारिश्रमिक समेत पाउँने गरेका छन् । घरेलु कामदार सम्बन्धी कानून निर्माणका लागि घरेलु कामदारले समेत आवाज उठाउँनुका साथै सरकारलाई दबाब दिन आवश्य रहेको साहले बताएका छन् ।
सदनदेखी सडकसम्म यस बिषयमा बहस हुन आवश्यक रहेको बताउँदै उनले यस सम्बन्धी कानून निर्माण गरी लागु गर्न आजपा अध्यक्ष साहले सरकारसंग माग समेत गरेका छन् । आम ट्रेड युनियन फेड़रेशन नेपालका अध्यक्ष शिव थापाको अध्यक्षतामा बसेको बैठकले नेपालमा घरेलु कामदारहरु असुरक्षित एवं शोषित रहेको निष्कर्ष निकालदै घरेलु कामदारको पक्षमा तुरुन्त कानुन ल्याउन सरकार संग माग गर्ने निर्णय गरेकोछ । साथै बैठकले संगठनको बिस्तारलाई अभियानको रूपमा अगाड़ी बढ़ाउने निर्णय समेत गरेको छ ।



























