
मुलुकको कृषि क्षेत्रमा कुल जनसंख्याको ६० प्रतिशतभन्दा बढी नागरिक निर्भर रहे पनि कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा कृषि क्षेत्रको योगदान घट्दै गएको छ । केही वर्षयता नेपालको जीडीपीको संरचना परिवर्तन हुँदै जाँदा कृषि क्षेत्रको हिस्सा घट्दै गएको हो ।आर्थिक वर्ष २०७८/७९ मा राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४ दशमलव पाँच प्रतिशत रहेको छ भने गैरकृषि क्षेत्रको हिस्सा ७५ दशमलव पाँच प्रतिशत पुगेको छ । गैरकृषि क्षेत्रको हिस्सामध्ये औद्योगिक क्षेत्रको १३ प्रतिशत र सेवा क्षेत्रहरूको ६१ दशमलव आठ प्रतिशत योगदान छ । आर्थिक वर्ष २०७७/७८ मा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २५ दशमलव पाँच प्रतिशत र गैरकृषि क्षेत्रमा औद्योगिक क्षेत्रको १३ प्रतिशत र सेवा क्षेत्रको ६१ दशमलव चार प्रतिशत थियो । यसैगरी, आर्थिक वर्ष २०७६/७७ मा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २५ दशमलव आठ प्रतिशत र गैरकृषि क्षेत्रमा औद्योगिक क्षेत्रको १३ दशमलव एक प्रतिशत र सेवा क्षेत्रको ६१ दशमलव दुई प्रतिशत थियो । आर्थिक वर्ष २०७५/७६ मा राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २५ दशमलव छ प्रतिशत र गैरकृषि क्षेत्रको हिस्सामध्ये औद्योगिक क्षेत्रको १४ दशमलव चार प्रतिशत र सेवा क्षेत्रको ६० दशमलव एक प्रतिशत थियो । आर्थिक वर्ष २०७४/७५ मा राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २६ दशमलव दुई प्रतिशत र गैरकृषि क्षेत्रमध्ये औद्योगिक क्षेत्रको १४ दशमलव पाँच प्रतिशत र सेवा क्षेत्रको ५९ दशमलव दुई प्रतिशत थियो ।नीति अनुसन्धान प्रतिष्ठानले सार्वजनिक गरेको प्रतिवेदनअनुसार खाद्य तथा अन्य बाली, तरकारी, फलफूल र मसलाको उत्पादनमा आएको कमीले जीडीपीमा कृषि क्षेत्रको हिस्सा घट्दै गएको हो । यी खाद्य उत्पादन हुने क्षेत्रफलमा कमी आएकाले उत्पादन घटेको प्रतिवेदनमा उल्लेख छ ।राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को पहिलो छ महिनाको प्रतिवेदनअनुसार पनि खाद्य, तरकारी, फलफूल र मसला उत्पादनमा प्रयोग हुने जमिनको कुल क्षेत्रफल दुई दशमलव एक प्रतिशतले घटेको उल्लेख छ । अघिल्लो वर्षको सोेही अवधिमा सो क्षेत्रफल दुई प्रतिशतले बढेको थियो ।समीक्षा अवधिमा खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफल दुई दशमलव एक प्रतिशतले घटेको छ । गत वर्ष सो क्षेत्रफल नगन्य प्रतिशतले घटेको थियो । समग्र कृषि बालीको क्षेत्रफलमा धान बालीको क्षेत्रफल सबैभन्दा धेरै ३० दशमलव दुई प्रतिशत रहेको छ । साथै प्रमुख खाद्य बालीमध्ये मकैको क्षेत्रफल २० दशमलव आठ प्रतिशत र गहुँको क्षेत्रफल १४ दशमलव नौ प्रतिशत, कोदोको क्षेत्रफल पाँच दशमलव आठ प्रतिशत र जौको क्षेत्रफल शून्य दशमलव पाँच प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । समीक्षा अवधिमा तरकारी बालीले ढाकेको क्षेत्रफल पाँच दशमलव नौ प्रतिशतले घटेकोमा बागबानीले ढाकेको क्षेत्रफल शून्य दशमलव छ प्रतिशतले बढेको छ । गतवर्षको सोही अवधिमा सो बालीले ढाकेको क्षेत्रफल क्रमशः शून्य दशमलव पाँच प्रतिशत र एक प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा फलफूलले ढाकेको क्षेत्रफल एक दशमलव दुई प्रतिशतले बढेको र मसलाले ढाकेको क्षेत्रफल दुई दशमलव चार प्रतिशतले घटेको छ भने गत वर्षको सोही अवधिमा ती बालीले ढाकेको क्षेत्रफल एक दशमलव एक प्रतिशतले बढेको थियो ।यस्तै, चालू आर्थिक वर्षको छ महिनाको अवधिमा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, तथा सुदूरपश्चिम प्रदेशमा खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफल घटेको छ भने कर्णालीमा मात्र खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफल बढेको छ । तरकारी तथा बागबानी बालीले ढाकेको क्षेत्रफल कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेशमा घटेको छ भने बागमती, लुम्बिनी र सुदूरपश्चिममा बढेको छ । समीक्षा अवधिमा मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा फलफूल बालीले ढाकेको क्षेत्रफल वृद्धि भएको छ भने कोशी प्रदेश, गण्डकी र सुदूरपश्चिम प्रदेशमा फलफूल बालीले ढाकेको क्षेत्रफल घटेको छ । धान बालीको हकमा भने मधेशमा सबैभन्दा बढी हिस्सा २५ दशमलव नौ प्रतिशत छ भने कार्णाली प्रदेशको सबैभन्दा कम दुई दशमलव सात प्रतिशत रहेको छ ।चालू आर्थिक वर्षको छ महिनाको अवधिमा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी र फलफूल तथा मसला)को कुल उत्पादन चार दशमलव तीन प्रतिशतले बढेको छ । गतवर्षको सोही अवधिमा सो बालीको उत्पादन शून्य दशमलव एक प्रतिशतले घटेको थियो ।यस्तै प्रमुख बालीको रूपमा रहेको धानको उत्पादकत्वमा भने पछिल्ला वर्षहरूमा सामान्य वृद्धि भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६/७७, आर्थिक वर्ष २०७७/७८, आर्थिक वर्ष २०७८/७९ र आर्थिक वर्ष २०७९/८० को छ महिनाको अवधिमा धान उत्पादकत्व (मेट्रिक टन प्रतिहेक्टरमा) क्रमशः तीन दशमलव आठ प्रतिशत, तीन दशमलव आठ प्रतिशत, तीन दशमलव पाँच प्रतिशत र तीन दशमलव आठ प्रतिशत रहेको छ । कृषि उत्पादनमा देखिएको समस्याहरू पहिचान तथा छनौट भइसक्दा पनि सरकारले त्यसको निराकरणको लागि पहल नगर्दा समस्या घट्न नसकेको हो । विभिन्न अध्ययन प्रतिवदेनले बालीअनुरूप उत्पादन हुने स्थान, सिँचाइ सुविधा, प्रविधिको प्रयोगलगायतका विषयमा स्पष्ट पार्दा समेत सरकारले त्यसलाई कार्यान्वयन गर्न नसक्दा कृषि उत्पादनममा समस्या यथावत् रहेको छ । राष्ट्र बैंकको प्रतिवेदनअनुसार सिँचाइको लागि आकाशेपानीमा भर पर्नुपर्ने तथा आधुनिक कृषि खेती तथा उन्नत बीउको प्रयोगमा वृद्धि नहुनुले बालीको उत्पादकत्व उल्लेख्यरूपमा वृद्धि हुन नसकेको हो ।




























