
जनकपुरधाम– नेपाली रुख कटहर भारतीय बजारमा लोकप्रिय हुन थालेपछि ग्रामीण क्षेत्रका बेरोजगार युवा यसको व्यापार गरी आर्थिक लाभ लिन थालेका छन् । नेपाली कटहर स्वादिलो, पुष्टकर र खानमा रुचिकर भएकाले यसको माग सीमावर्ती भारतीय बजारमा अत्यधिक रहेको भारतीय व्यापारीहरू बताउँछन् ।
सीमावर्ती भारतीय बजार हरिनेका कटहर व्यवसायी रामाशंकर कामत भन्छन्, नेपाली कटहरको भारतीय बजारमा माग बढिरहेको र यसले राम्रै दाम दिने भएकाले यसको व्यापार गर्ने गरेको छु । खासगरी वैशाखदेखि साउनसम्म चार महिना कटहरको राम्रो व्यवसाय हुने गरेकोले यस व्यवसायमा करिब पाँच सय युवा संलग्न रहेका छन् ।धनुषा जिल्लामा ४२८ हेक्टर क्षेत्रफलमा कटहर खेती गरेकोमा चार हजार ४६७ मेट्रिक टन कटहर फलेको कृषि ज्ञान केन्द्र धनुषाका वागवानी विकास अधिकृत प्रदीपकुमार यादवले बताए । प्रायः गरी अहिलेको मौसममा युवा साइकलमा कटहर राखी सीमावर्ती भारतको जयनगर, उमगाँव, बासोपटी, हरिने, हरलाखी, मधुबनी, दरभगाजस्ता बजारसम्म लगेर बिक्री गर्ने भएकाले अत्यधिक मुनाफा गर्ने गरेको उनीहरू बताउँछन् ।आर्थिक अभावका कारण गर्जो टार्न धनुषाको गाउँगाउँबाट कटहर किनेर बेच्न भारत लगे पनि सीमा क्षेत्रमा रहेको सुरक्षाकर्मीले नजराना लिएर मात्र जान दिन गरेको फुटकर व्यापारीको गुनासो छ । प्रतिहेक्टर २० देखि २५ मेट्रिक टनसम्म उत्पादन हुने गरेको धनुषा जिल्लामा यसवर्ष कटहर राम्रै फलेको देखिन्छ । खासगरी जिल्लाको उत्तरी क्षेत्रमा यसको उत्पादन अत्यधिक मात्रामा हुने गरेकाले त्यहींबाट कटहर किनेर भारतीय बजारमा बेच्ने गरेको अर्का व्यापारी राहुल साहले बताए ।सरकारले कटहर खेतीतर्फ किसलाई प्रोत्साहन गर्न यसको बिरुवा निःशुल्क उपलब्ध गराउनु पर्ने किसानको माग छ । बेरोजगार भई बसेका युवाले कटहर बेचेर राम्रो आम्दानी गर्न थालेपछि यस व्यवसायीतर्फ अन्य युवा पनि आकर्षित भई आर्थिक लाभ लिँंदै आइरहेका छन् । सीमावर्ती भारतीय बजारमा कटहरको माग बढ्न थालेकोले प्रदेश तथा स्थानीय सरकारले यसको खेतीका लागि पकेट प्याकेज कार्यक्रम ल्याउनु पर्ने किसानको माग छ ।




























