
वैदेशिक रोजगार विभागले गत आर्थिक वर्ष २०७९/८० मा वैदेशिक रोजगारीमा गएका कामदारको अन्तिम विवरण सार्वजनिक गरेको छ । यसअघि म्यानपावर कम्पनी नवीकरण प्रयोजनका लागि असार १५ सम्मको विवरण सार्वजनिक गरेको विभागले गत वर्षहरूभन्दा केही ढिला गरी अन्तिम विवरण सार्वजनिक गरेको हो ।सरकारले विश्वका १ सय १० मुलुकमा नेपाली कामदार वैदेशिक रोजगारीका लागि पठाउन पाउने गरी खुला गरेको भएपनि म्यानपावर कम्पनीहरूले २२ मुलुकमा मात्रै नेपाली कामदार पठाउन सकेका छन् ।गत आर्थिक वर्षमा मलेसियामा सबैभन्दा धेरै नेपाली कामदार गएका छन् । उक्त मुलुकमा ६ हजार २ सय ७६ जना महिलासहित २ लाख १९ हजार ८२ जना पहिलोपटक म्यानपावर कम्पनीबाट गएका छन् । पुनः श्रम स्वीकृति तथा व्यक्तिगत भिसामा गरी मलेसिया २ लाख ५९ हजार ५ सय ९४ जना गएका छन् । मलेसियापछि धेरै कामदार साउदी अरबमा गएका छन् । साउदीमा १ दाख १२ हजार ७ सय ७७ जना गएकोमा म्यानपावर कम्पनीमार्फत जानेको संख्या ५५ हजार ६ सय २४ जना रहेको छ । म्यानपावर कम्पनीमार्फत साउदीमा मासिक ५ हजार पनि उडेका छैनन् ।यसअघिका वर्षहरूमा उल्लेख्य कामदार जाने कतारमा गत आर्थिक वर्षमा अपेक्षित कम कामदार गएका छन् । समग्रमा १ लाख ३३ हजार २ सय ६२ जना गएको कतारमा म्यानपावर कम्पनीमार्फत ३३ हजार ६ सय २९ जनामात्र गएका छन् । जुनप्रति महिना २७ सयको हाराहारीमा रहेको छ ।अर्को गन्तव्य मुलुक यूएईमा गत आर्थिक वर्ष ४३ हजार ७ सय ४० नयाँ र रिइन्ट्रीलगायतका प्रक्रियाबाट १ लाख १६ हजार १ सय ५९ जना गएका छन् । कुवेतमा ७ हजार ९ सय १ महिलासहित २८ हजार ९ सय ४२ जना नयाँ कामदार गएका छन् । सबै प्रक्रियाबाट कुवेत जानेको संख्या ४३ हजार ५ सय ७ जना रहेको छ ।खाडी र मलेसियापछि युरोपेली मुलुक रोमानिया, मरिसस, ओमान, बहराइन, माल्दिभ्स, मकाउ, जोर्डन, इजरायल, क्रोएसिया, साइप्रस, ब्रुनाई, अल्वानिया, उजवेकिस्तानमा संस्थागतरूपमा नेपाली कामदार गएका छन् । सबै प्रक्रियाबाट गत आर्थिक वर्ष ७ लाख ७१ हजार ३ सय १७ जना नेपाली कामका लागि विदेशिएका छन् ।




























