अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ प्रेम सम्बन्धमा रहेको कुरा नौलो होइन । ५ वर्षदेखि उनीहरु प्रेममा छन् । उनीहरुले प्रेम सम्बन्ध पनि कहिल्यै लुकाएनन् । जबदेखि प्रेममा डुबे, मिडियामा पनि खुलेरै व्यक्त गरे । यो जोडीको फिल्ममा समेत सहकार्य हुँदै आएको छ । उनीहरुले ‘मासु भात’, ‘पोइ पर्यो काले’, ‘माइकल अधिकारी’ लगायतका फिल्ममा सँगै काम गरिसकेका छन् ।
यो जोडीले कोरोना महामारीभन्दा अगावै विवाह गर्ने योजना बनाएको थियो । तर, सृष्टिको परिवार बेलायतमा बस्ने भएकाले विवाह पछाडि सर्यो । कोरोनाले डेढ वर्ष रोकिएपछि उनीहरु गत वर्ष विवाह गर्न कस्सिएका थिए । तर, फेरि विभिन्न कारणले हुन सकेन । अब यो जोडीले यसै वर्ष विवाह गर्ने तयारी गरेको छ । विश्वस्त स्रोतका अनुसार उनीहरु आगामी मंसिरमा लगनगाँठो कस्दैछन् ।
आगामी भदौ १० गते सौगातले निर्माण र अभिनय गरेको फिल्म ‘दि सिक्रेट अफ राधा’ रिलिज हुँदैछ । यसमा सृष्टि मुख्य भूमिकामा छिन् । यो फिल्म रिलिज अगाडि सौगात कुनै फिल्ममा काम नगर्ने भनेर बसेका छन् । भदौपछि एक फिल्मको छायांकन सकेर उनी विवाहको तयारीमा जुट्ने जानकारी प्राप्त छ । उनीहरु मंसिरको कति गते विवाह गर्दैछन् त्यो भने सार्वजनिक भएको छैन ।