
२०७२ साल कार्तिक १२ गते गणतन्त्र नेपालको प्रथम महिला राष्ट्रपतिका रूपमा निर्वाचित विद्यादेवी भण्डारी २०७४ साल फागुन २९ गते दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभयो। सात वर्षभन्दा बढी समय राष्ट्राध्यक्ष रहँदा उहाँले विभिन्न मुलुकको राजकीय भ्रमण गर्नुभयो । उहाँको कार्यकालमा विभिन्न राष्ट्रका राष्ट्रप्रमुख‚ सरकारप्रमुख तथा उच्च प्रतिनिधि मण्डललाई नेपालमा स्वागत गर्नुभएको छ। विदेश भ्रमण उहाँले महामारी र प्राकृतिक विपदका समयमा विश्वभरका आफ्ना समकक्षीसँग टेलिफोन संवाद‚ पत्राचारका साथै अन्य माध्यमबाट सहयोगका लागि पहल गर्नुभएको छ। सन् २०१७ को अप्रिलमा उहाँको राजकीय भ्रमण मित्र राष्ट्र भारतमा भएको थियो। तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपाल भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउँदै आपसी सरोकार‚ चासो र प्राथमिकताको विषयमा छलफल भएको थियो। सोही वर्ष नोभेम्बरमा उहाँले संयुक्त अरब इमिरेट्सको भ्रमण गर्नुभयो । सन् २०१८ को अक्टोबरमा कतारको राजकीय भ्रमण गर्नुभयो। सन् २०१९ को अप्रिलमा चीनको राजकीय भ्रमण गर्नुभएको थियो। भ्रमणका क्रममा उहाँले दोस्रो अन्तर्राष्ट्रिय बेल्ट एण्ड रोड सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै विश्वका अन्य राष्ट्रप्रमुख तथा सरकारप्रमुखसँग साक्षात्कार गर्नुभयो। सन् २०१९ वर्ष अक्टोबरमा उहाँले म्यानमारको भ्रमण गर्नुभयो भने मार्च २०२१ मा बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्म शताब्दीका अवसरमा आयोजित कार्यक्रमको विशिष्ट अतिथिका रूपमा बङ्गलादेशको राजकीय भ्रमण गर्नुभयो। त्यसैगरी उहाँले जापानका वर्तमान सम्राटको गद्दी आरोहरणका अवसरमा जापानको औपचारिक भ्रमण गर्नुका साथै श्रीलङ्काको राजकीय भ्रमणसमेत गर्नुभएको थियो। राष्ट्रपति भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा भारतका राष्ट्रपति प्रणव मुखर्जीले सन् २०१६ नोभेम्बर‚ चीनका राष्ट्रपति सी चिनफिङले अक्टोबर २०१९ मा तथा बङ्गलादेशका राष्ट्रपति महमुद अब्दुल हमिदले नोभेम्बर २०१९ मा नेपालको राजकीय भ्रमण गर्नुभयो । राष्ट्रपति भण्डारीले संयुक्त राष्ट्र सङ्घको अन्तर्राष्ट्रिय श्रम सङ्गठनद्वारा आयोजित श्रममा महिला शीर्षकको सम्मेलनलाई मुख्य वक्ताका रूपमा सम्बोधन गर्नुभयो। नेपालले सन् १९६६ मा आईएलओको सदस्यता ग्रहण गरेपछि सम्बोधनका निम्ति आमन्त्रण गरिएको पहिलो अवसर भएकाले यसको ऐतिहासिक महत्त्व छ। पोल्याण्डको राजधानी वार्सामा आयोजित जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप-२४) मा राष्ट्रपति भण्डारीले सम्बोधन गर्नुभएको थियो। सन् २०१९ मार्चमा संयुक्त राष्ट्र सङ्घको महासभाका अध्यक्षद्वारा अमेरिकाको न्यूयोर्कमा आयोजित ‘सत्तामा महिलाहरू’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले लैङ्गिक समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि‚ पहल तथा संवैधानिक प्रबन्धलाई सशक्त रूपमा प्रस्तुत गर्नुभयो। उक्त सम्मेलनमा निम्त्याइएका तीन जना राष्ट्र प्रमुखमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीका साथै लिथुआनिया तथा ट्रिनिडाड र टोबागोका महिला राष्ट्रपति हुनुहुन्थ्यो। नेपाली महिला आन्दोलनको नेतृत्व गर्दै लैङ्गिक समानताका लागि विश्वलाई नै उदाहरण हुने भूमिकाको कदर गर्दै राष्ट्रपति भण्डारीलाई सन् २०२२ को नाभेम्बरमा विश्व महिला नेतृत्व परिषद्ले आइसल्याण्डको राजधानी रेक्जाभिकमा ठूलो कार्यक्रम आयोजना गरी पुरस्कृत गर्यो। जर्मनीकी पूर्व चान्सलर एन्जेला मर्केल‚ न्यूजिल्याण्डकी पूर्व प्रधानमन्त्री हेलेन क्लार्कजस्ता सशक्त महिला नेत्रीहरुले स्थापना गरेको उक्त परिषदद्वारा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीको राजनीतिक पृष्ठभूमि‚ सङ्घर्ष र जीवनको उच्च प्रशंसा गरिएको थियो। साही अवसरमा उहाँलाई परिषद्को सबैभन्दा ठूलो पुरस्कार ट्रेल ब्लेजर अवार्डद्वारा सम्मान गरिएको थियो। नेपालको कूटनीतिक सम्बन्धलाई अझ बलियाे बनाउँदै अझ बनाउँदै सरकारको पहल र समन्वयमा राष्ट्रपति भण्डारीले कोभिड-१९ महामारीको बेला विश्वका विभिन्न मुलुकका समकक्षीसँग विभिन्न माध्यमबाट प्रत्यक्ष विचार आदानप्रदान गर्नुभयो। चिनियाँ राष्ट्रपतिसँग उहाँले टेलिफोन संवादको फलस्वरूप नेपालले तत्कालै १० लाख मात्रा खोप प्राप्त गर्यो। दक्षिण एसियामा खोप प्राप्त गर्ने पहिलो राष्ट्र बन्न राष्ट्रपति भण्डारीको भूमिका उल्लेखनीय छ। यसैगरी उहाँले खोप उत्पादक मुलुकका राष्ट्रप्रमुखलाई खोप खरिदका निम्ति सहजीकरण गर्न पत्राचार गर्नुभएको थियो। Source: Gorkhapatra




























