काठमाडौँ । आउदो माघ २२ गते देखि शुरु हुने पाठेघरको मुखको क्यान्सर विरुद्ध किशोरीलाई लगाइने ’एचपीभी’ खोप अभियानका लागि कोशी प्रदेशका बिभिन्न जिल्लामा खोप पठाउन सुरु गरिएको छ ।केही दिन अघि विराटनगर स्थित प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा आईपुगेको २ लाख ७५ हजार १ सय ८० भाईल खोप मध्ये ५८ हजार ८ सय ५० भाइल ७ वटा जिल्लामा पठाइएको छ । झापा, मोरङ, सुनसरी, उदयपुर, सोलु, ओखलढुंगा र संखुवासभामा एक साता भित्र खोप पठाइने र करिब ६ हजार ६ सय भाइल बफर स्टकमा राखिने प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख ज्ञान बहादुर बस्नेतले जानकारी दिनुभयो । आगामी माघ २२ गते देखि फागुन ६ गते सम्म एचपिभी खोप अभियान संचालन गरी १० देखि १४ वर्षउमेर समूहका किशोरीहरुलाई निशुल्क खोप दिने उहाले बताउनुभयो ।एचपिभी खोप लगाउदा एचपिभीको संक्रमणबाट हुने क्यान्सर रोग ७० प्रतिशत घटाउन सकिने विश्वास रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागले लक्षित समूहका किशोरीहरूलाई विद्यालयमै खोप अभियान सञ्चालन गर्ने बताइएको छ ।