
मुलुकको आगामी नयाँ राष्ट्रपतिको यही फागुन २५ गते हुने निर्वाचनका लागि मतदान केन्द्र निर्माण गरिएको छ । बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा उक्त निर्वाचनका लागि दुई वटा निर्वाचन केन्द्र निर्माण गरिएको निर्वाचन सहायक अधिकृत अमृता शर्माले जानकारी दिए ।निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित तुल्याउन सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि मतदान गर्न बेग्ला–बेग्लै मतदान केन्द्रको व्यवस्था गरिएको हो । राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभा सदस्य ५ सय ५० मतदाता छन् ।निर्वाचनमा सङ्घीय सांसदको एकमत बराबर ७९ र प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ । निर्वाचनका लागि सङ्घीय सांसदको मतदान केन्द्रमा उच्च अदालत पाटनका उपरजिष्ट्रार केशव पौडेल र प्रदेशसभा सदस्यको मतदान केन्द्रमा सर्वाेच्च अदालतका उपरजिष्ट्रार लोकनाथ पराजुली खटिएका छन् । राष्ट्रपति पदको निर्वाचनमा नौ दलीय गठबन्धनकातर्फबाट साझा उम्मेदवारमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।आठ दलद्धारा सबै मतदातालाई आज काठमाडौं आइपुग्न निर्देशनमंगलबार बसेको आठ दलीय गठबन्धनको बैठकले आसन्न राष्ट्रपति पदको निर्वाचनबारे छलफल गरेको छ । नेपाली कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा बैठकमा निर्वाचनको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको हो । बैठकमा यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचन परिचालनसँग जोडिएका विषयमा छलफल भएको कांग्रेस उपसभापति एवं कार्यदल संयोजक पूर्णबहादुर खड्काले जानकारी दिए ।
बैठकमा निर्वाचनमा राजनीतिक दलले गर्नुपर्ने प्राविधिक तयारीलगायत विषयमा समेत छलफल भएको उनको भनाइ छ । आठ दलले निर्वाचनको तयारीका लागि आफ्ना प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद तथा सबै प्रदेशसभा सदस्यलाई फागुन २४ गते बिहान ११ बजेसम्म काठमाडौँ आइपुग्न आग्रह गर्ने निर्णय गरेको छ । साथै बैठकमा दलहरूले आफ्ना सांसदलाई मत बदर नहोस् भन्नका लागि मत हाल्न सिकाउने, शतप्रतिशत मत खसाल्नका लागि प्रयास गर्नेलगायत विषयमा छलफल भएको थियो ।आठ दलीय गठबन्धनले आफ्ना साझा उम्मेदवार पूर्व सभामुख रामचन्द्र पौडेललाई विजयी गराउन यसअघि केन्द्र र सबै प्रदेशमा अभिुमुखीकरण कार्यक्रम सम्पन्न गरिसकेको छ । कांग्रेस उपसभापति खड्का संयोजकत्वको कार्यदलमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चाका नेताहरू छन् ।
कांग्रेससहित नौ दलीय गठबन्धनले राष्ट्रपति निर्वाचनका मतदातालाई बुधबार बिहानसम्म काठमाडौं आइपुग्ने निर्देशन दिएको छ ।
राष्ट्रपति चयनका लागि बिहीबार हुने निर्वाचनमा संघीय संसदका सदस्य र प्रदेशसभाका सदस्य मतादाता रहनेछन् । उनीहरु बुधबार बिहान ११ बजेभित्र काठमाडौं आइपुग्न र सम्बन्धित दलमा सम्पर्क गर्न निर्देशन दिएको हो । मंगलबार बसेको गठबन्धनको कार्यदलको बैठकले मतदातालाई बुधबार बिहान ११ बजेभित्र काठमाडौं आइपुगेर सम्बन्धित दलको सम्पर्क पुग्न निर्देशन दिएको हो । राष्ट्रपति निर्वाचनका लागि गठन गरेको कार्यदलको मंगलबारको बैठकले उक्त निर्देशन दिएका कार्यदलका संयोजक तथा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए ।




























