काठमाडौं । बिहिबार नयाँ बर्षको दिनमा नेपाली फिल्म ‘ए मेरो हजुर ४’ले बम्पर ओपनिङ गरेको छ । देशभरका हलमा यो चलचित्रले बिहिबार ८० लाखको ग्रस कलेक्शन गरेको वितरक गोविन्द शाहीले जानकारी दिए । देशभर मल्टिप्लेक्स हलको वृद्धि भएका कारण पनि साउथको हिन्दी डब फिल्म ‘केजीएफ २’को बम्पर ओपनिङको बाबजुत पनि यो फिल्मले सुखद ओपनिङ गरेको हो ।काठमाडौंमा फिल्मको व्यापार ४३ लाख रहेको शाहीले बताए । काठमाडौं बाहिर ३५ देखि ३६ लाखको व्यापार भएको शाहीको भनाई छ । यसमा काठमाडौंको रञ्जना र गोपिकृष्णको कलेक्शन आइनपुगेको उनले बताए । यस्तै, काठमाडौं बाहिरको पनि केही हलको रिपोर्ट नआइसकेको उनको भनाई छ । उनले भने–‘देशभर मल्टिप्लेक्स हल वृद्धि भएको छ । यसैले, पनि विदेशी ठूलो फिल्म आउँदा पनि हामीलाई ठूलो असर त गरेन । तर, अझै शो बढी पाएको भए फिल्मले १ करोड भन्दा बढीको ग्रस कलेक्शन सहजै गथ्र्यो ।’यो फिल्म बिहिबार देशभरका हलमा हाउसफूलका साथ चलेको थियो । फिल्मको शुक्रबारको व्यापार मध्यान्न १२ बजेपछि बढेको छ । बिहान औषत रहेको व्यापार १२ बजेपछि बढेको छ र बेलुकासम्म कतै सोल्ड आउट त कतै भरिने क्रममा छन् ।शनिबार यो फिल्मले बम्पर कारोबार गर्ने अनुमान गरिएको छ । यो फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् । निर्माता सुनिल कुमार थापाले शो कम पाएपनि दर्शकको उच्च चापका कारण फिल्मले सुखद ओपनिङ गरेको बताए । अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत अभिनित यो फिल्मको वर्ड अफ माउथ बलियो छ । यसैले, फिल्म लामो समयसम्म चल्ने विश्लेषण प्रदर्शकहरुको पनि छ ।